संरक्षण नहुँदा बर्सेनि बाढीको भेलसँगै बग्छन् पुरातात्त्विक सम्पदा

रुपन्देहीस्थित बुद्धकालीन मानव बस्तीको प्रमाण दिने ऐतिहासिक भग्नावशेष नासिँदै
माघ २८, २०८० |मनोज पौडेल
संरक्षण नहुँदा बर्सेनि बाढीको भेलसँगै बग्छन् पुरातात्त्विक सम्पदा

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित अमहवा गाउँनजिकै निपनियामा रहेका महत्त्वपूर्ण पुरातात्त्विक भग्नावशेष बाढीको भेलसँगै बर्सेनि दानव नदीमा बग्दै गएका छन् । संरक्षणको प्रयास नहुँदा बुद्धकालीन मानव बस्तीको प्रमाण दिने ऐतिहासिक भग्नावशेषको अस्तित्व संकटमा परेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब आठ किलोमिटर दक्षिण पूर्व रहेका निपनियासँगै बन्जराहीका पुरातात्त्विक भग्नावशेष र सम्पदा बगेर भारततर्फ गइरहेका छन् । २०५७ देखि दानव नदीको धार परिवर्तन भई पश्चिमतिर च्याप्दै कटान गर्दै सम्पदालाई क्षति पुर्‍याउँदै गएको हो ।

निपनियामा सन् १९६२ मा भारतीय पुरातत्त्वविद् देवला मित्राले र बन्जराहीमा सन् १९६४ मा नेपाल भारत कोअपरेशन मिसनबाट भारतीय पुरातत्त्वविद् एसबी देवले उत्खनन गरेका थिए । दुवैले गरेको अध्ययन अन्वेषणबाट इसा पूर्व छैठौं शताब्दीदेखि इसा पूर्व सातौं शताब्दीसम्म पुरानो उक्त ठाउँ रहेको बताएका छन् । एनबिपी र ग्रे वेयरका भाडाका टुक्रा नदी किनार र माथिल्लो भागमा छरपस्ट देखिन्छ । यी भाडाकुडाका टुक्रा नै ऐतिहासिकता प्रमाणित गर्न काफी छन् । यी र यस्ता महत्त्वपूर्ण पुरातात्त्विक सामग्री कतिपय बगी सके । बाँकी पनि बग्ने अवस्थामा छन् ।

फेला परेका भग्नावशेष र पुरातात्त्विक सम्पदाले बुद्धको जीवनीपछि बुद्ध तीर्थस्थल आउजाउ गर्न तीर्थयात्रीले प्रयोग गर्ने प्राचीन मार्ग हुन सक्ने पुरातत्त्वविद्हरु बताउँछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा सम्राट् अशोक आई स्तम्भ राख्नु र अशोक स्तम्भमा लुम्बिनी ग्रामको कर घटाइएको कुरा उल्लेख गरिनुले त्यतिबेला यी स्थल सहरका रूपमा रहेको देखाउँछ ।

यसवर्ष नियनियामा ३ मिटर २० सेन्टिमिटर गहिरो ट्रेन्च बनाएर पहिलो पटक रेस्क्यू एस्काभेसन गरिएको थियो । नदीले बगाइरहेको जग्गा निजी हुँदा कमभन्दाकम क्षति गरेर उत्खनन गरिएको थियो । खोलाको सेक्सनमा आधा बगिसकेको माटोको रिङले बनेको इनार जस्तो देखिने भाग झिकेर ल्याइएको छ ।

रिङको डायमिटर ८० सेन्टीमिटर छ । १५ सेन्टीमिटर लम्बाईको एउटा रिङ छ । टुटेका र सग्लो ठूला १९ वटा रिङ रेस्क्यु गरेर ल्याइएको छ । त्यस्तै एनबिपी र ग्रे वेयर प्रसस्त मात्रामा ल्याइएको छ । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।