गोरखालाई उत्तरी नाका ङुइला भञ्ज्याङ जोड्ने सडक १० वर्षसम्म अधुरै

बाटो खन्न हेलिकोप्टरमा लगेको डोजरसमेत अलपत्र
माघ ८, २०८० |भीमलाल श्रेष्ठ
गोरखालाई उत्तरी नाका ङुइला भञ्ज्याङ जोड्ने सडक १० वर्षसम्म अधुरै

गोरखा । गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको छेकम्पारमा १० वर्षअघि ठेकेदारकै खर्चमा करिब २५ लाख रुपैयाँ भाडा तिरेर हेलिकोप्टरमा बोकेर डोजर लगियो । यो डोजरले सडक खनिरहँदा मोटर आउँछ भनेर स्थानीय निकै उत्साहित थिए । तर सरकारले ७ करोड खर्चेको सिर्दीवास चुम्चेत छेकम्पार ङुइला भन्ज्याङ सडक अपूरै छ । बाटो खन्न लगेको डोजरसमेत अलपत्र छ । 

गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्लिङ्गका लोप्साङ धार्के लामा अपाङ्गताका कारण लामो बाटो हिँड्न सक्दैनन् । हेलिकोप्टरमा बोकेर १० वर्षअघि गाउँ पुगेको डोजरले सडक खन्ला र हिँड्नुपर्ने दुख सकिएलान् भन्ने आशा उनले राखेका थिए । तर वर्षौँसम्म पनि काम अपूरो भएपछि मोटर चढेर काठमाडौं र सदरमुकाम जाउँला भन्ने उनको आशा मरेको छ ।

सिंगो चुमनुब्रीलाई सडक सञ्जालले नछोएको त्यो बेलामा हेलिकोप्टरमा डोजर बोकाएर छेकम्पार लगी सडक खन्न थाल्दा स्थानीयमा अर्कै उत्साह थियो । सिर्दीवासबाट सुरु गरेर चिनियाँ सीमा नाका ङुइला भञ्ज्याङसम्म ५५ किलोमिटर सडक खन्न छेकम्पारबाटै सुरु भयो । सूर्य गोरखा एप्रोप्रिएट जेभी कन्स्ट्रसनले सडक खनेबापतको ७ करोड ३ लाख रुपियाँ भुक्तानी पनि लियो । त्यसपछि भने उक्त सडक सरकारको प्राथमिकता परेको छैन ।

संघीय सडक आयोजना कार्यालयमार्फत ठेक्का लागेर खन्न सुरु भएको यो सडक आयोजना २०७७ सालमा प्रदेश सरकार मातहत गएको छ । तर संघअन्तर्गतको गोरखा सडक आयोजना कार्यालयमार्फत चालु वर्षमा उक्त सडकलाई ५० लाख रुपियाँ विनियोजन गरिएपछि सडकको जिम्मेवारी संघ वा प्रदेश कसको हो भन्ने नै अन्योल छ ।

गोरखाका ११ वटा स्थानीय तहमध्ये सबैभन्दा दुर्गम चुमनुब्री गाउँपालिकालाई केही महिनाअघि सडक सञ्जालले छोएको छ । नुब्री उपत्यकातर्फ अर्का चिनियाँ नाका रुइला भन्ज्याङ जोड्ने लक्ष्यका साथ बेनिघाट आरुघाट लार्के सडक निर्माण भइरहेको छ । तर एक दशकअघि खन्न थालिएको सिर्दीवास, छेकम्पार ङुइला भन्ज्याङ सडक भने अलपत्र छ । 


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।