झापामा बनाउने भनिएको औद्योगिक पार्क शिलान्यासमै सीमित

अहिलेसम्म लागेन जग्गाकै टुङ्गो
माघ ८, २०८० |गणेशमान मुखिया
झापामा बनाउने भनिएको औद्योगिक पार्क शिलान्यासमै सीमित

झापा । मुलुक आत्मनिर्भर भई उत्पादित वस्तु निर्यात गर्ने उद्देश्यले झापामा औद्योगिक पार्क निर्माणको शिलान्यास २०७७ साल फागुनमा गरिएको थियो । करिब २१ सय बिघा क्षेत्रफलमा सबै प्रकारका उत्पादनमूलक उद्योग र उद्योगका लागि चाहिने अन्य सेवा एकै थलोमा निर्माण गर्ने लक्ष्य थियो । तर अहिलेसम्म जग्गाको टुंगोसमेत लागेको छैन ।

ओलीले २०७७ साल फागुन १६ गते झापाको दमकमा चीन नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास कार्यक्रममा मन्तव्य दिएका थिए । तर तीन वर्षसम्म जग्गा प्राप्तिसम्म हुन सकेको छैन । रोजगारी त टाढाको कुरा ।

औद्योगिक क्षेत्र काँसघारीले ढाकेको छ । ७ सय ७९ बिघा जग्गा अधिग्रहण गर्नुपर्नेमा ५ सय ४५ बिघाको मुआब्जा रकम १ अरब १७ करोड ८८ लाख रुपैयाँ वितरण गरेको औद्योगिक पार्क व्यवस्थापन लिमिटेडको तथ्याङ्क छ । बाँकी जग्गाको मुआब्जा वितरण हुन सकेको छैन ।

मुआब्जा वितरण गरिएको जग्गा, सरकारी जग्गा हो । घेरबार नहुँदा शिलान्यास गरेको स्थानमै मुआब्जा बुझेका व्यक्ति उपयोग गरिरहेको स्थानीय बासिन्दा बताउँछन् ।

यहाँ खोला तटबन्ध गरी, जग्गा उकास गरी बसोबास गरेका झन्डै ४ दर्जन घरपरिवार छन् । उनीहरूसँग सरकारी निस्सा प्रमाण छैन । उनीहरू मुआब्जा रकमबाट वञ्चित हुने अवस्थामा पुगेका छन् ।

२१ सय बिघामा, ६३ अरब रुपैयाँ लागतमा निर्माण हुने औद्योगिक पार्क ५ वर्षमा पूर्वाधार निर्माण सक्नु पर्ने हो । ४ वर्षमा जग्गा प्राप्तिसम्म भएको छैन । अरबौँ सरकारी लगानी, बालुवामा पानी झैँ बनेको छ, झापाको औद्योगिक पार्क ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।