कहिले होला मुगुको तामाखानी उत्खनन ?

माघ ७, २०८० |राजबहादुर शाही
कहिले होला मुगुको तामाखानी उत्खनन ?

मुगु । मुगुको पूर्वी मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फू नाम्लाङला खोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सरकारसँग माग गरेका छन् ।

संघीयता लागु भएपछि उक्त तामाखानीले मान्यता पाउने र उत्खनन हुने आशा भए पनि संघीय सरकारले यसबारे पहल गरेको छैन ।

मुगुमकार्मारोङ गाउँपालिकाको १, डोल्फू गाउँदेखि ५ घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङजे, इटिङ र थोङवा भन्ने स्थानमा गरी तीन ठाउँमा तामाखानी छ । यो कर्णाली नदीदेखि करिब ३ हजार मिटर उचाइमा पर्छ ।

गत वर्ष झोलुंगे पुल क्षेत्र विकास समितिले तामाखानी जाने डोल्फू कर्णाली नदीमा पुल बनाएपछि आउजाउमा सहज भएको छ । पहिले स्थानीय बासिन्दाले काठे पुलबाटै आउजाउ गर्थे । ‘हाम्रो तामाखानी उत्खननमा प्रदेश र संघीय सरकारले चासो दिएन,’ गाउँपालिका उपाध्यक्ष छिरिङ फुटिक लामाले भनिन्, ‘खानी नै नभएको ठाउँमा सरकारको ध्यान जान्छ, यहाँको तामाखानीमा सरकारको आँखा परेन ।’ उनका अनुसार नाम्लाङखोला क्षेत्रमा जताततै तामाखानी छन् ।

पहिले यहाँका ५५ घरधुरीले खानीबाट तामाका डल्ला निकालेर विभिन्न भाँडा बनाएर बेच्ने गरेको उनको भनाइ छ । भारतको अल्मोडाको तामाभन्दा यहाँको उत्कृष्ट देखिएको स्थानीय बताउँछन् ।

सन् १९७५ देखि सरकारले डोल्फूको तामाखानी उत्खननमा प्रतिबन्ध लगाएको स्थानीय बताउँछन् । गाउँपालिकाले पनि खानी अन्वेषण गरी उत्खननका लागि खानी तथा भूगर्भ विभागमा लिखित तथा मौखिम रुपमा आग्रह गर्दै आएको जनाएको छ ।

माघ ३ गते गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलाई भेटेर लिखित रुपमा खानी अन्वेषण गरी उत्खननको माग गरेको अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी दिए । घिमिरेले पनि यहाँको तामाखानी अन्वेषणका लागि आगामी चालु आवमा बजेट व्यवस्था गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।