तीन दशक बित्न लाग्दा पनि फाल्गुनन्द मार्ग निर्माणले गति लिएन, स्थानीय निराश

पुस २९, २०८० |विप्लव भट्टराई
तीन दशक बित्न लाग्दा पनि फाल्गुनन्द मार्ग निर्माणले गति लिएन, स्थानीय निराश

इलाम । पश्चिमी इलाम र दक्षिणी पाँचथरलाई तराईसँग जोड्ने फाल्गुनन्द मार्गको निर्माणमा भएको ढिलाइले स्थानीय निराश भएका छन् । झापाको दमकबाट इलाम-पाँचथर सीमावर्ती चिसापानी पञ्चमी जोड्ने यो राजमार्गको निर्माण कार्यलाई छिटो सक्न सरोकारवालाले दबाब दिएका छन् ।

माङसेबङ लारुम्बाका स्थानीय महेशकुमार शेर्माले आक्रोश पोख्दै प्रश्न गरे, ‘यहाँ त बाटो कति पनि भएको छैन । यहाँदेखि उता हेर्नुस् त कटिङ पनि भएको छैन । ठेकदारको कुरा पनि सुनौँ, सडक डिभिजन कार्यालय दमकका अधिकारी आउनु भएको छ, उहाँहरुको पनि कुरा सुनौँ । यहाँ त ढिला भयो तर यहाँदेखि माथि चाहिँ के भएको ? ’

सडकका लागि उनी जस्तै ५२ परिवारले घरगग्गा छाडेका थिए । तर अहिलेसम्म सडक बनेको छैन । जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीयतहका प्रतिनिधिसहित राजनीतिकदलका प्रतिनिधि, सञ्चारकर्मी, सम्बन्धितकार्यालयका इन्जिनियर लगायत अनुगमनका क्रममा लारुम्बा भञ्ज्याङका बासिन्दा धेरै आक्रोशित देखिए ।

माङसेबङ-२का स्थानीय डम्बर लोरेङ्देनले भने, ‘इलामको पश्चिमी भेक, पाँचथरको केही भेग र यो ताप्लेजुङसम्म नै पुग्ने अत्यन्तै महत्वपूर्ण बाटो । यो बनिसक्ने समयमा पनि ठेकेदार र सम्बन्धित निकायको लापरबाहीको कारण यहाँका जनताले सास्ती बेहोर्नु परेको छ ।’

दमक-चिसोपानी फाल्गुनन्दमार्ग निर्माण पूरा भए छोटो दूरीमा नै तराई र्झन त्यस क्षेत्रका बासिन्दालाई सहज हुने छ । सडकले झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमीसम्म जोड्ने छ । तर सुरु भएको तीन दशकमा पनि निर्माण पूरा भएको छैन ।

फाल्गुनन्दमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले निर्माण व्यवसायीले कामलाई तीव्रता दिन नसक्दा सडक अलपत्र परेको गुनासो गरे । उनले भने, ‘जुन गतिमा यो बाटो निर्माणमा निर्माण व्यवसायीले काम गर्नुपर्ने हो, त्यो स्पिडमा उहाँहरुले काम गर्नुभएन ।’

सडक अनुगमनका क्रममा निर्माण व्यवसायीहरुले चाँडो काम सक्ने प्रतिबद्धता जनाए । लुम्बिनी गणपती जेभीका तुल्सीराम भण्डारीले आफूहरुलाई काम गर्न राज्यले बजेटको व्यवस्था समयमै गरिदिए एक वर्षभित्र काम सक्ने जनाए । उनले भने, ‘हामी अब काम अगाडि बढाउँछौँ र अबको एक वर्षभित्र यो काम सम्पन्न गर्छौं । तर त्यसअनुसार राज्यले बजेटको व्यवस्था गरोस् । साथै हाम्रो रोकिएको पैसा पनि भुक्तानी होस् । हामी काम गर्न तयार छौं ।’

केही प्राविधिक र कानुनी विषय समस्याका रुपमा देखिएकाले त्यसलाई सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पठाएर त्यतैबाट समाधान गर्नुपर्ने अनुगमन टोलीले जनाएको छ । स्थानीय स्तरमा समन्वय गरेर काम छिटोभन्दा छिटो पूरा गर्न पनि टोलीले सुझाएको छ ।

सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सुधिरकुमार झाले भने, ‘जुन हाम्रो कानुनी प्रक्रिया छ, निर्माण कार्यका लागि उहाँहरुले जुन सम्झौता गर्नुभएको थियो, अहिले चाहिँ म्याद थपसमेत गरेर २०८० पुस मसान्तसम्म मात्रै म्याद छ । त्यो म्याद भित्रै काम सम्पन्न गर्न पटकपटक हामीले पत्राचार गरेका छौँ । समयमै काम सम्पन्न नगरे ठेक्का तोड्ने भनेर पनि हामीले पत्राचार गरेका छौँ । पहिलो कारबाही स्वरूप उहाँहरूको पेस्की जफत गर्नेसम्मको हामीले सबै कारबाही गरिसकेका छौँ ।’

३ खण्डमा काम भइरहेको ३३ किलोमिटर सडक खण्ड १ अर्ब ३६ करोड १९ लाख रुपैयाँमा ठेक्का लागेको हो । राज्यको ठूलो लगानीमा यस क्षेत्रका बासिन्दाको जीवनलाई प्रत्यक्ष प्रभाव पर्ने महत्वको यो आयोजना पूरा गर्न बाहनाबाजी भन्दा पनि कामको गति बढाउन आवश्यक छ । 


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।