देशैभर थालियो पानीचराको गणना

पुस २१, २०८० |मनोज पौडेल
देशैभर थालियो पानीचराको गणना

कपिलवस्तु । नेपालमा शनिबारबाट पानीचराको गणना सुरु भएको छ । सिमसार क्षेत्रका चराको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग पुर्‍याउन मध्य हिउँदमा गणना थालिएको हो । 

नेपालसहित विश्वभर एकै पटक जलपन्छी गणना भइरहेको छ । शनिबार पहिलो दिन काठमाडौंको मनोहरा खोला र टौदहमा चराविद् र नेचर गाइडले गणना थालेका छन् । त्यस्तै चितवन, कोशी टप्पु र पोखरामा चरा गणना भइरहेको छ । 

पश्चिमको शुक्लाफाँटा र बर्दियामा पनि गणना गरिनेछ । पानीचरा पाइने क्षेत्र छुट्याएर पन्छी संरक्षणमा क्रियाशील समूह, संस्थालाई गणनाको जिम्मेवारी दिइएको छ । यसका लागि ३ सय ५० बढी चराविद्, नेचर गाइड र स्वयंसेवी परिचालित छन् । जलपन्छीहरूको अध्ययन गरेर उत्साहपूर्वक फेस्टिभल जस्तै मनाउने गरिएको पानी चरा गणना कार्यक्रमका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले बताए ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर, चितवनको बिसहजारी र कैलालीको घोडाघोडी तालमा गणना भइरहेको छ । लुम्बिनी क्षेत्र, सौरहा, राप्ती र नारायणी नदी तथा नवलपरासीका नदी, सिमसार, ताल र पोखरी गरी ५० बढी ठाउँमा गणनाको लक्ष्य छ । गणनाको परिणामले चराको अवस्था पत्ता लगाउन, विवरण अद्यावधिक गर्न र समुदाय तथा सरोकारवालालाई संरक्षणसम्बन्धी नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने विश्वास छ ।

गणना माघ ७ गतेसम्म चल्नेछ । चराको रङ, बनोट र आवाजसँग परिचित चराविज्ञ, नेचर गाइडले दूरबिन र वाइनाकुलरले गणना गर्छन् । सिमसार क्षेत्रको सङ्कुचन तथा विनाशले गर्दा त्यसमा आश्रित हिउँदे पाहुना चरा पछिल्ला वर्षमा नेपालतिर कम आकर्षित भइरहेका छन् । उडान मार्गमा हुने अवरोध र खेतीमा रासायनिक मलको बढ्दो प्रयोगले पानीचरा जोखिममा हुँदा जलवायु परिवर्तनले समस्या थपेको छ ।

सन् १९८७ देखि बर्सेनि सिमसारमा आश्रित चराको गणना चल्दा तिनको अवस्था खतराउन्मुख देखिएको छ। नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन्। उत्तरी ध्रुवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् ।

जाडो छल्न यहाँ बर्सेनि १ सय ५० बढी प्रजातिका चरा आउँछन् । त्यसक्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौँ चरा आउँछन् ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।