ट्यांकरले अटो रिक्सालाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु

पुस १७, २०८० |राजेश्वर पाण्डे
ट्यांकरले अटो रिक्सालाई ठक्कर दिँदा दुई भारतीयको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर–५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह नजिक ट्यांकरले अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ ।

सर्लाही जाँदै गरेको ट्यांकरको ठक्करबाट घाइते भएका दुवै जनाको वीरगन्जमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । नुनथरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।

अटोमा रहेका भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षीय अवधेश झाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मृतक दुवै अंग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर–१ स्थित बागमतीको नुनथर आएका थिए ।

प्रहरीका अनुसार टेम्पोमा ६ जना चढेका थिए । उक्त दुर्घटनामा टेम्पो चालक सर्लाहीको बागमती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनी घाइते भएका छन् । त्यस्तै अटोमा रहेका चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाइते भएका छन् ।

घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लगतै ईलाका प्रहरी कार्यालय चन्द्रपुरले ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नारायाणी अस्पतालमा राखिएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।