कोशी प्रदेशमा दैनिक १० जना हराउँछन्, २० प्रतिशतको अवस्था अज्ञात

पुस १७, २०८० |महाप्रसाद खतिवडा|सुशीला पाठक
कोशी प्रदेशमा दैनिक १० जना हराउँछन्, २० प्रतिशतको अवस्था अज्ञात

विराटनगर । कोशी प्रदेशमा दैनिक सरदर १० जना मानिस हराउँछन् । तीमध्ये ८० प्रतिशत जति भेटिए पनि बाँकीको अवस्थाबारे प्रहरीसँग कुनै सूचना छैन । हराएका व्यक्तिको खोजीमा प्रहरी प्रशासनले संवेदनशीलता देखाउँन नसक्दा परिवारका सदस्यलाई ठूलो पीडा हुने गरेको छ ।

गत भदौ ३० गते हराएका विराटनगर महानगरपालिका ४, घर दिलिप सुवेदी अझै फेला परेका छैनन् । नेपाल टेलिकम झापाको सुरूङ्गा कार्यालयमा कार्यरत दिलिप शनिबार बिहान कार्यालयको चौकीदारसँगै चोकमा गएर चिया खाई निवास छिरेपछि सम्पर्कविहीन भए । निवासबाटै कसरी उनी अलप भए भन्ने रहस्य सुल्झिन सकेको छैन । त्यस्तै गत मंसिर १० गते सम्पर्कविहीन भएकी धनकुटा महालक्ष्मी नगरपालिका १ की घुमाउनेकी ६९ वर्षीया मनमाया पुलामीमगर पनि अझै फेला परेकी छैनन् । बिहान ११ बजेतिर गोठबाट खाना खान घर हिाडेकी मनमाया बाटोबाटै बेपत्ता भइन् । यसैगरी कोशी प्रदेशबाट बर्सेनि हराउनेमध्ये सात सयभन्दा बढी मानिस भेटिदैनन् । हराएका व्यक्तिको खोज तलासमा प्रहरीले सहयोग नगरेको पीडितका आफन्तको गुनासो छ ।

दिलिपका बुबा नेत्रप्रसाद सुवेदीले छोरो हराएको उजुरी दिन जाँदा प्रहरीले वास्ता नगरेको बरु हाँसी मजाक गरेर उडाएको गुनासो गरे । उनले भने, ‘प्रहरीले पहिले चाहिँ वास्ता गरेनन्, हामीले त्यही दिन गएर कुराकानी गरेका थियौँ। त्यो कुराकानी गर्दा उनीहरुले वास्तै गरेनन् जस्तो हामीलाई लाग्यो । किनभने लोग्ने स्वास्नीको झगडा भएर हिँडेको पनि हुन सक्छ । हामी पुलिसलाई चाहिँ यस्तो दुःख, हैरान भनेर हाँसी मजाक गरे ।’

आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशबाट तीन हजार सात सय १७ जना हराएकोमा दुई हजार नौ सय ६६ जना फेला परे । तर सात सय ५१ जना अझै भेटिएका छैनन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा तीज हजार दुई सय १३ जना हराएकोमा दुई हजार ६ सय ६१ भेटिए पनि पाँच सय ५२ जना अझै बेपत्ता छन् । आर्थिक वर्ष २०७८/८९ मा चार हजार दुई सय २० जना हराएकामा तीन हजार तीन सय ६७ जना भेटिए पनि आठ सय ५३ जनाको अवस्था अज्ञात छ । प्रहरी भने हराएका मानिस खोज्न कुनै कसर बाँकी नराखेको दाबी गर्छ ।

प्रदेश प्रहरी कार्यालयका ऋषिराम कँडेलले भने, ‘हराएका व्यक्तिहरूलाई खोजतलास गर्न खोजतलास शाखा नै छुट्टै बनाएर त्यसको फलोअप गर्ने गरी सम्पर्क अधिकृत तोकेर खोजतलास गर्ने गरेका छौँ ।’

राज्यका लागि फेला नपरेका व्यक्तिको तथ्याङ्कले खासै अर्थ नराख्न सक्ला । तर हराएका मानिसका परिवारको लागि यो जीवनभरिको ठूलो पीडा हो । मानिस हराउँदा उसको परिवारमा पर्ने असरमा राज्य गम्भीर भई खोजतलासको उपयुक्त संयन्त्र बनाउन आवश्यक छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।

Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।