फाल्गुनन्द गापाको डेढ वर्ष : गुणस्तरीय सडक र खानेपानी सुविधा प्रतिबद्धतामै सीमित

पुस ८, २०८० |लक्ष्मी गौतम
फाल्गुनन्द गापाको डेढ वर्ष : गुणस्तरीय सडक र खानेपानी सुविधा प्रतिबद्धतामै सीमित

पाँचथर । नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सरकार हो- स्थानीय तह । नागरिकले यो सरकारका कामको मूल्यांकन गरेर ठाउँको ठाउँ ताली र गाली दिन भ्याउँछन् । मुलुक संघीय संरचनामा गएपछि दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष पूरा भइसक्यो । यो अवधिमा जनप्रतिनिधिहरुले घोषणापत्रमा उल्लेख गरेका वाचा कति पूरा गरे ? नागरिकको दृष्टिकोणमा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन कस्तो छ त ? पालिका समीक्षाअन्तर्गत आजको शृंखलामा हामीले समेटेका छौं, पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई ।

गत वर्ष भएको स्थानीय तह निर्वाचनमा पााचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भए । गठबन्धन बनाएर चुनाव लडेका उनीहरुले संयुक्त घोषणापत्रमा भनेका थिए-'कृषि, पर्यटन, पूर्वाधार विकाससँगै स्वास्थ्य, शिक्षा र खानेपानी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई जोड दिइने छ ।' सोही अनुसार केही काम गरिरहे पनि केही नागरिक सडक र खानेपानीको पहुँचबाट अझै टाढा रहेको गुनासो स्थानीयको छ ।

आफूले खानेपानी सुविधाका लागि निवेदन दिँदा दुई वर्षमा पनि आफ्नो गाउँमा बजेट विनियोजन नभएको तर वर्षैपिच्छे खानेपानीमा बजेट भने लगाइएको भन्दै फाल्गुनन्द - ७ का पूर्णबहादुर चेम्जोङले गुनासो पोखे ।

फाल्गुनन्द गाउँपालिकाका सबै वडामा कच्ची र ग्राबेल सडक पुगेका छन् भने जनप्रतिनिधिले कार्यभार सम्हालेयताका डेढ वर्षमा सडकको स्तरवृद्धि गर्ने काम भइरहेको छ । नागरिक सरोकारका विषयमा गाउापालिकाले ध्यान दिइरहेको छ । वडा कार्यालयमै बैंक र पालिका कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने,घुम्ती एक्स-रे मेसिनमार्फत् गर्भवतीको परीक्षण र नागरिकका गुनासा सुन्न वडा वडामै पुगेर सार्वजनिक सुनुवाइजस्ता काम जनप्रतिनिधिको महत्वमा परेका छन् । गाउँपालिका अध्यक्षा बृजहाङ आङ्देम्बेले भने, ‘फाल्गुनन्दका नागरिक सहज ढंगले आवातजावत गर्न सकुन्, यहाँका उत्पादन बाहिर लैजान सकुन्, त्यसपछि शिक्षा र स्वास्थ्यलाई पनि त्यतिकै महत्वमा राखेर काम गरिरहेको अवस्था छ ।’

किसानलाई प्रोत्साहन गर्न यो वर्षदेखि ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार दिने नीति ल्याएको छ । विपन्न वर्गका नागरिकको स्वास्थ्य बिमालाई निरन्तरता दिने किसानको सहजताका लागि खेतबेसीसम्म पुग्ने कृषि सडक निर्माण र स्तरवृद्धि पनि गाउँपालिकाको प्राथमिकतामा छन् ।

स्थानीय सरकारले नागरिकका जनचासोमा ध्यान दिए पनि स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधारमा विनियोजित बजेट न्यून भएको नागरिकको गुनासो छ । सवारी मर्मत र इन्धनको खर्च घटाएर पनि विकास निर्माणमै लगानी गर्नुपर्ने उनीहरुको सुझाव छ ।

विपक्षीहरु गाउँपालिका करको दायरा बनाउने क्रममा जनप्रतिनिधि चुकेको, नवीनतम र प्रविधिमैत्रीभन्दा परम्परागत र वितरणमुखी बजेटमै केन्द्रित रहेको आरोप लगाउँछन् ।

परम्परागत विचारलाई त्यागेर नयाँ ढंगबाट विकासलाई अगाडि लैजानु पर्नेमा त्यसो नभएको संघीय लोकतान्त्रिक पार्टीबाट अध्यक्षको उम्मेदवार बनेका जितने चेम्जोङको भनाइ छ ।

यहाँ अकबरे खुर्सानी, आलु, दूध, सुन्तला, किबि र तरकारी उत्पादन पर्याप्त भए पनि भण्डारण र बजारको समस्या छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण हुन बाँकी छ । विगतमा निर्माणस्थलको विवादका कारण ढिलाइ भएको र अहिले समस्या समाधान भएर प्रक्रिया अगाडि बढिसकेकाले धेरै कुर्नु नपर्ने जनप्रतिनिधिको भनाइ छ ।

सुरु गरेका राम्रा कामलाई निरन्तरता दिँदै थप नवीनतम कार्यक्रम लिएर अगाडि बढे आफूहरु जनप्रतिनिधिलाई साथ दिन सधैं तत्पर रहेको स्थानीयको भनाइ छ । 


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।