जंगलमा छैन आहारा, बस्ती पस्दै हात्ती

मानव-हात्ती द्वन्द्वमा २०६२ सालयता ५६ जनाको ज्यान गुमाए
मोरङ, सुनसरी र झापामा जंगली हात्तीको त्रास
जनधनमा क्षतिको जोखिम बढ्यो
पुस ५, २०८० |गणेशमान मुखिया
जंगलमा छैन आहारा, बस्ती पस्दै हात्ती

झापा । रैथाने हात्तीको उपद्रो सहँदै आएका झापाका बासिन्दा, एक महिनायता भारतबाट प्रवेश गरेको जंगली हात्तीले झन् त्रासमा छन् । झापामा एक दर्जनको संख्यामा रैथाने हात्ती छन् । भारतबाट तीन दर्जनको हाराहारी आएको छ ।

झापालगायत सुनसरी र मोरङमा दैनिक हात्तीको बथान डुल्ने, अन्नबाली खाने, मानिसलाई आक्रमण गरिरहेका छन् । झापामा बढी हुने यो समस्या यसपालि मोरङ र सुनसरी जिल्लामा समेत पुगेको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने, जंगली हात्तीको मुख्य सिजन भनेको, धान र मकै पाक्ने समय हो । सिजन नभए पनि यो वर्ष हात्तीको हुल मेची नदी पार गर्दै नेपाल प्रवेश गरेको छ । हात्ती प्राय: झापामा विचरण गरी एकै दिन या बढीमा एक सातामा फर्कने गर्थ्यो । तर यसपालि हात्तीको ठूलो हुल सुनसरी र मोरङसम्म पुगेको छ । फर्कने छाँटकाँट छैन । अन्नबालीलगायत खानेकुरामा विविधता भएकाले हात्ती लामो समय बस्न थालेको पूर्वक्षेत्र उज्यालो नेपाल बर्दियाका इन्चार्ज शंकर लुइँटेलको अनुभव छ ।

रैथाने हात्तीको पीडा सहँदै आएको प्रभावित क्षेत्रका बासिन्दा, ठूलो हुल थपिएपछि जनधनको जोखिम झनै बढेको छ । सरकारी राहत नाम मात्रको भएपछि हात्तीसँग पौंठेजोरी खेल्नुको विकल्प नरहेको बुद्धशान्ति गाउँपालिका झापाका शोभा पौडेल बताउँछिन् । उनका अनुसार हात्ती लखेट्ने क्रममा कतिपयको ज्यानै जाने गरेको छ ।

मानव हात्ती द्वन्द्वमा २०६२ सालयता ५६ जनाको ज्यान गएको छ । जसमा ६ जना शिविरमा रहेका भुटानी शरणार्थी छन् भने एकजना भारतीय हुन् । यसैगरी १९ वटा हात्ती मरेका छन् । जसमा १६ वटा भाले हात्ती, एउटा पोथी र २ वटा लिंग नछुटिएको । अनुशासन उल्लंघन गरेपछि समूहबाट भाले हात्ती लखेटिन्छन् । समूहबाट छुटिएको भाले हात्ती बढी मारिने गरेको तथ्याकंले देखाएको डिभिजन वन कार्यालय भद्रपुरका प्रमुख मेघराज राई बताउँछन् ।

हात्तीको आक्रमणबाट यस वर्षको आठ महिनामा झापामा ४, मोरङ र सुनसरीमा एक-एक गरी ६ जनाको मृत्यु भएको छ । मृतक परिवारलाई राहतबापत दुई करोड ३४ लाख ५० हजार रुपैयाँ सरकारले बाँडेको तथ्यांक छ । यो ग्राफ झनै उकालो लाग्ने निश्चित छ । स्थानीय तहले महलम पट्टी लगाउनबाहेक केही नभएकाले संघ र प्रदेश सरकार उत्तरदायी हुनुपर्ने हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन बताउँछन् ।

झापामा १८ हजार हेक्टर जंगलले ओगटेको छ । एउटा हात्तीलाई विचरण गर्न १० हजार हेक्टर आवश्यक पर्छ । जंगलभित्र खानेकुरा नभएकाले, आहाराको लागि हात्ती बस्तीमा पस्ने गरेको हो । 


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।