हस्तान्तरण गर्न ठिक्क पारेको अस्पतालको नयाँ भवनमा पानी रसाएपछि...

मंसिर २५, २०८० |गणेशमान मुखिया
हस्तान्तरण गर्न ठिक्क पारेको अस्पतालको नयाँ भवनमा पानी रसाएपछि...

झापा । मेची प्रादेशिक अस्पताल निर्माणको डिजाइन चार तलाको छ । बजेट दुई तलाको आयो । ०७४ सालमा २३ करोडमा ठेक्का लागेर दुई वर्षमा सक्नु पर्ने थियो । श्री कन्टेक प्रालिले ४ पटक म्याद थपेर बनाएको भवन गत जेठ २२ गते अस्पताल विकास समितिलाई हस्तान्तरण गर्न ठिक्क पारेको बेला छतबाट पानी कोठामा रसायो । त्यसपछि स्थगित छ । तर निर्माण पक्षले भवन हस्तान्तरण गरेको दाबी गर्छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका प्रमुख सुदीप पौडेलले भने, ‘हामीले ह्यान्डओभर गरेर । अब चलाउनुहो्स भनेर जिम्मा दिइसकेका छौँ । अहिले देखिएको समस्या जुन छ, एक्सन्सन जोइनबाट सिपेच भएको छ । त्यो बिल्डङ भनेको अझै दुई तला थपेर त्यसलाई पूरा गरेपछि मात्रै त्यो पूर्ण बन्द हुन्छ । नत्र बर्सेनि कुनै न कुनै कुनाबाट सिपेच भइरहन्छ ।’

भवन निर्माण पश्चात जिम्मा लिन ठिक्क परेको बेला, वर्षात भयो । छतबाट पानी कोठामा चुहियो । उपचार सेवा प्रभावित हुने भएकोले सर्वपक्षीय निर्णय गरी हस्तान्तरण कार्य रोकियो । त्यसयता निर्माण पक्षले जानकारी नगराएको अस्पताल विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष विश्वराज बराल भने भवन पूर्ण रुपमा सञ्चालन गर्ने अवस्थामा निर्माण भएको भनेर आधिकारिक जानकारी नआएको बताउँछन् । उनले भने, ‘सबै पक्ष बसेर भवनलाई क्लियर गर्ने, भवन क्लियर भइसकेपछि सञ्चालन गर्ने भन्ने कुरामा सहमति भएर हामी छुट्यौँ । त्यसपछि त्यो भवनलाई निर्माण गर्ने काम गर्दै थिए । तर त्यो भवन सञ्चालन गर्ने अवस्थामा आयो है भनेर हामीलाई औपचारिक रुपमा आधिकारिक जानकारी आएको छैन ।’

पुरानो अस्पताल भवन जीर्ण छ । बिरामीको चाप उतिकै बढेको छ । नयाँ भवन सञ्चालन भएमा सेवा प्रवाहमा छिटो छरितो र सजिलो हुने अस्पताल पक्षको भनाइ छ ।

मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको भौतिक निर्माण ढिलाई हुदाँ सेवाग्राहीले भने उपचार सेवा पाउन सकेका छैनन् । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारको ध्यान जान जरुरी छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।