हुम्लामा पनि मनाइयो लैंगिक हिंसाविरुद्वको १६ दिने अभियान

मंसिर २५, २०८० |जनकबहादुर शाही
हुम्लामा पनि मनाइयो लैंगिक हिंसाविरुद्वको १६ दिने अभियान

हुम्ला । नोभेम्बर २५ देखि सुरु भएको लैंगिक हिंसाविरुद्वको विश्वव्यापी १६ दिने अभियान हुम्लामा आइतबार पनि विभिन्न कार्यक्रम गरी समापन भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।

हुम्लामा पनि लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ जिल्लाका ७ वटै गाउँपालिकामा विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान मनाइएको हो । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट जिल्लाभरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी १६ दिन पछि आइतबार सिमकोट गाउँपालिकाको आयोजनामा सिमकोटको लोकतन्त्र चोकमा दीप प्रज्वलन गरी अभियानको समापन गरिएको छ ।

अभियानका सन्दर्भमा शुभकामना सन्देशमार्फत् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताए । ‘लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन, यो हाम्रो राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिहरुसँग गासिएको र सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै हामीले महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य गर्न सक्नेछौँ,’ शुभकामना सन्देशमा नेता शाहीले भनेका छन् ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।