नेपाल-भारत सीमास्तम्भ मर्मत सुरु

नेपाली पक्षले बिजोर अंक भएका ३१७ सीमास्तम्भको मर्मत गर्दै
मंसिर १८, २०८० |गणेशमान मुखिया
नेपाल-भारत सीमास्तम्भ मर्मत सुरु

झापा । कोशी प्रदेशमा नेपाल तथा भारतबीच रहेका सीमा स्तम्भहरुको मर्मत आजदेखि सुरु गरिएको छ ।

सशस्त्रको प्राविधिक टोलीले आज (सोमबार) झापाको मेचीनगर नगरपालिका ७, सतिघट्टास्थित सीमा स्तम्भ ५५ अन्तर्गतको पिलर रङरोगन गरेको हो । कोशी प्रदेशमा भारतसँग ४३० किलोमिटर लामो खुला सीमामा ९५७ वटा सीमास्तम्भ छन् ।

नेपाल र भारतको सीमा कार्यदलबीच जोर अंकका सीमास्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अंकको सीमा स्तम्भको मर्मत नेपाली पक्षले गर्ने सहमति छ । त्यसअन्तर्गत नेपाली पक्षले बिजोर अंक भएका ३१७ सीमा स्तम्भको मर्मत गर्नेछ । सीमा सुरक्षाका लागि १५ सय जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनीकुमार पोखरेलले जनाए ।

नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भको सुरक्षा र मर्मतसम्भारको जिम्मेवारी दिएको हो । झापापछि क्रमशः मोरङ र सुनसरीका सीमास्तम्भको पनि मर्मत गरिने जनाइएको छ । झापाका ५५ स्थानमा दशगजा अतिक्रमण भएको सरकारी तथ्यांक छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।