स्वरोजगार बन्न नौमती बाजा घन्काउँदै इलामका महिला

मंसिर १५, २०८० |विप्लव भट्टराई
स्वरोजगार बन्न नौमती बाजा घन्काउँदै इलामका महिला

इलाम । मङ्सिर महिना विवाहको मौसम । विवाह भन्नासाथ सुनिरहौंजस्तो नौमती बाजा घन्किएको सम्झना सबैमा आउँछ । 

परापूर्वकालदेखि नै विवाहसहित विभिन्न शुभ कार्यमा बजाइने नौमती बाजाको संरक्षणमा इलाम गोलाखर्कका महिला जुटेका छन् । स्वरोजगारसमेत बन्ने उद्देश्यले महिलाहरू नौमती घन्काउन सक्रिय भएका हुन् ।

इलाम गोलाखर्ककी ५५ वर्षीय भीमा पाठकलाई २०४३ सालमा सोयाङबाट बेहुली भएर पराईको घर आउँदै गर्दा कुँडिएको मन सम्हाल्ने माध्यम नै नौमतीको धुन बन्यो । बेहुलीमै नाचूँ-नाचूँ लागेको स्मरण सुनाउँदै अहिले आफै बजाउन पाएकोमा उनी दङ्ग छिन् । उनीजस्तै एक दर्जन महिला नरसिंङ्गादेखि दमाहा अनि सनाई बजाउन पाएकोमा मक्ख छन् ।

पछिल्लो समय लोप हुँदै गएको नौमती बाजा संरक्षणका लागि इलाम बजारदेखि केही तल गोलाखर्क गाउँका महिलाहरू संगठित भएर लागेका हुन् । 

कुनै पनि बिहे, भोजभतेर वा ठूला समारोहमा नौमती शून्य प्रायः भइसकेको छ । प्रविधिको विकासले गाउँको मौलिक संस्कृति नौमती लोप हुने अवस्थामा पुगेपछि इलाम नगरपालिका वडा नं. ९ को सहयोगमा स्थानीय नौमती बाजा सांस्कृतिक समूहले तालिम आयोजना गरेको हो । लामो समयदेखि नौमती बजाउँदै आएका झापाका वीरबहादुर महतले बाजा बजाउन सिकाएका थिए ।

नौमतीको संरक्षणका लागि महिलाहरूले देखाएको उत्साहमा ढाडस दिन सके उनीहरूको उद्देश्य अनुरूप संस्कृति संरक्षणसँगै स्वरोजगार बन्न सहज हुनेछ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।