सुनसरीको सर्दुखोलादेखि झापाको पाटापुरसम्मको सडकको काम अझै अधुरो

मंसिर १४, २०८० |गणेशमान मुखिया
सुनसरीको सर्दुखोलादेखि झापाको पाटापुरसम्मको सडकको काम अझै अधुरो

झापा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्ग सुनसरीको सर्दुखोलादेखि झापाको पाटापुरसम्म सवा सय किलोमिटर लामो सडक निर्माण २०७७/०७८ बाट सुरु भए पनि अझै अधुरै छ । कमल खोलादेखि शाहादत्त स्थलसम्म ३२ किलोमिटर सडकको त डीपीआरसमेत पूरा भएको छैन भने राजमार्ग क्षेत्रभित्र पर्ने रुखको लगत उठाउने काम जारी छ । सम्झौता अनुसार एक वर्षभित्र सडक निर्माणको काम पूरा हुन कठिन छ ।

झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा पर्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गको लम्बाई एक सय २७ दशमलब ८ किलोमिटर छ । आर्थिक वर्ष २०/७र०७८ बाट सुरु भएको मार्ग ०८१/८२ मा सम्पन्न हुनु पर्ने सम्झौता छ । चुरे श्रृंखलाको दक्षिणबाट सडक बनाउँदा कमलखोलाबाट कन्काई नदीसम्म पूर्वपश्चिम हाइवेसँग ३ किलोमिटरभन्दा कम दूरी पर्ने भएकाले समस्या देखिएको छ । त्यसैले ३२ किलोमिटरको डीपीआर भएको छैन भने सडकमा पर्ने रुख कटानमासमेत समस्या छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय, झापाका इन्जिनियर सुवासकुमार दत्तले भने, ‘जहाँ वन क्षेत्र छैन त्यहाँ ८०-९० प्रतिशत काम सकिएको छ । वन क्षेत्र भएको स्थानमा संरचनाहरु निर्माण भएका छन् । रुख काटेर मात्रै गर्न सकिन काम चाहिँ बाँकी छन् ।’

सडकमा पर्ने झापा र इलाम जिल्लाको जंगलमा रहेका रुखको लगत उठाउने काम धमाधम भइरहेको छ । वन कार्यालयसंग समन्वय नगरी सिधै रुख कटान गर्न आएकाले पहिले अवरोध गरेको वन कार्यालय कर्मचारीको स्वीकारोक्ति छ ।

डिभिजनल वन कार्यालय, भद्रपुर, झापाका प्रमुख मेघराज राईले भने, ‘वन ऐन २०७२ को दफा ४२ ले चाहिँ वन क्षेत्रमा विकास निर्माणको काम गर्नु पर्दा अरु विकल्प नभएमा, वातावरणमा प्रतिकूल असर नपर्ने अवस्थामा नेपाल सरकारले निर्णय गरेर भोग गर्ने अधिकार विकास निर्माण निकायलाई दिन सक्ने भनिएको छ । त्यो लिने प्रक्रिया लामो छ । प्रक्रिया पूरा नगरी जबरजस्ती उहाँहरुले डोजर लाउन थालेपछि हामीले रोकी दिएको चै हो ।’

सडक र वन कार्यालयको समन्वय अभावले ढिलासुस्ती भएको सरोकारवालाको भनाइ छ ।

राजमार्गमा पर्ने ३७ वटा पुलमध्ये ११ वटाको निर्माण सकिएको छ । १० अर्ब १३ करोड रुपैयाँमा काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । समयावधि भित्र काम सम्पन्न नगरे उपभोक्ताले सास्ती त ब्यहोर्नु पर्छ नै लागत रकमसमेत बढ्ने छ । 


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।