स्मार्ट सिटीको काम एक वर्षदेखि ठप्प

मंसिर ६, २०८० |चक्र भण्डारी
स्मार्ट सिटीको काम एक वर्षदेखि ठप्प

दैलेख । सरकारले ग्रामीण क्षेत्रमा छरिएर रहेका बस्तीलाई व्यवस्थित गर्ने भन्दै ७ वर्षअघि सुरु गरेको स्मार्ट सिटीको काम गत आर्थिक वर्षदेखि पूर्ण रुपमा बन्द भएको छ । तिनैमध्येको एक हो दैलेखको दुल्लु । यहाँ आधुनिक पूर्वाधार, सूचना प्रविधि, मनोरञ्जन पार्क, खुला क्षेत्र, बगैंचा, खेलकुद मैदान, व्यवस्थित शौचालय तथा सिटी हल बनाएर नगरवासीलाई सबै सेवासुविधा दिएर एकीकृत बस्ती बसाल्ने भनी सुरु भएको योजना रकम अभाव देखाएर बीचमै स्थगित भएको छ ।

सहरी विकास मन्त्रालयले स्मार्ट सिटी एक सहर एक पहिचान भन्दै देशभरका १२ नगरपालिकामा ७ वर्षअघि काम थाल्यो । सोही परियोजनाअन्तर्गत दैलेखको दुल्लुमा भ्यु टावर, बसपार्क, एकीकृत बस्ती विकासका लागि जग्गा प्राप्तिको प्रक्रिया तथा सिटी हल निर्माणको काम भइरहेको थियो । तर गत आर्थिक वर्षदेखि काम ठप्प छ । दुर्गममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, विद्यालयलगायत पूर्वाधार बनेर गुणस्तरीय सेवामा पहुँच बढ्ने भन्दै खुसी भएका नगरवासी योजना अलपत्र परेपछि निराश छन् ।

‘स्मार्ट सिटी बन्छ, राम्रो हुन्छ भनेर जग्गा दिएँ । जग्गा दिँदा पनि काम अधुरो भयो,’ दुल्लुका जोगराम कामीले भने । सरकारले बनाउँछ कि भन्ने अझै आशा रहेको दलबहादुर कार्की विश्वास व्यक्त गर्छन् ।

नगरभित्र छरिएर रहेका करिब ९३०० बढी घरधुरीलाई सेवा पुर्‍याउने उद्देश्यले ४ वटा वडामा यसअघि डेढ करोडभन्दा बढी रकम खर्च गरेर केही संरचनाहरुसमेत बनिसकेका छन् । नगरको आन्तरिक स्रोत नभएको र संघ र प्रदेशकै भरमा चल्ने भएकाले यो कार्यक्रमलाई निरन्तरता गरिदिन नगरपालिकाका कार्यवाहक मेयर भरमबहादुर भण्डारीको आग्रह छ ।

सेवामा पहुँचको दृष्टिकोणले एकीकृत बस्ती विकासका लागि आधारभूत पूर्वाधार निर्माण आवश्यक देखेरै योजना बनाएको सरकारले बजेट रोक्नु विरोधाभाषपूर्ण देखिएको छ । सबै सेवा सुविधा एकै ठाउँमा उपलब्ध गराएर एकीकृत बस्ती विकास गर्दा फाइदा पुग्ने नारायण क्याम्पस दैलेखकी शिक्षण सहायक सपना प्रधानको भनाइ छ ।

सेवा-सुविधाको खोजीमा बढ्दो बसाइँसराइ रोक्ने, रोजगारीलगायत गतिविधि बढ्ने र स्थानीयको जीवनस्तर उकासिनुका साथै यातायात सुविधा सहज हुने भनिएको परियोजना बीचैमा रोखिएको छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।