डोल्पामा नियमित हवाई उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा अवरोध गर्ने चेतावनी

मंसिर ३, २०८० |सरोज थापा
डोल्पामा नियमित हवाई उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा अवरोध गर्ने चेतावनी

डोल्पा । नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान नगर्ने एयरलाइन्सका जहाजलाई अवतरणमा स्थानीयले अवरोध गर्ने भएका छन् ।

ठूलीभेरी नगरपालिकाको कात्तिक २५ गते बसेको नगरकार्यपालिकाको बैठकले नेपालगन्जदेखि जुफाल विमानस्थलमा चाडबाडको समयमा उडान नगर्ने निजी एयरलाइन्स तारा एयर र नेपाल वायुसेवा निगमको जहाजलाई अवतरणमा अवरोध गर्ने निर्णय गरेको हो । उक्त बैठकले अन्य समयमा जस्तै चाडबाडमा पनि नियमित उडान गर्न आग्रह गर्दै नियमित उडान नगरेको अवस्थामा अवतरणमै अवरोध गर्ने निर्णय गरेको नगरप्रमुख सचिवालय सदस्य सचिव रेखामान बुढाले बताए ।

अन्यत्र उडान नपाएको समयमा मात्र डोल्पाको भूमिलाई प्रयोग गर्ने तर दशैँ तिहार जस्ता महत्वपूर्ण चाडबाडको समयमा बेवास्ता गरिएको भन्दै स्थानीय सरकारको अधिकार प्रयोग गरी अवतरणमा अवरोध गर्ने निर्णय भएको बुढाको भनाइ छ ।

नियमित उडानका लागि गरिएको आग्रहलाई बेवास्ता गरी चाडबाडमा डलर कमाउन डोल्पा बाहेकका पूर्वी विमानस्थलतर्फ एयरलान्सहरुले सेवा दिँदा डोल्पाली जनता मर्कामा परेको स्थानीयको गुनासो छ ।

नगर प्रमुख श्ववर्ण बुढाले यातायातको छिटो छरितो साधन नै हवाई उडान भएको अवस्थामा नियमित उडान नहुँदा अशक्त असहाय बिरामीका साथै सर्वसाधारणलाई सास्ती भएको बताए ।

अहिले डोल्पामा समिट एयरले मात्र नियमित उडान गरेको बताउँदै उनले नियमित उडानका लागि आग्रह गर्दा पनि बेवास्ता गरिएको गुनासो गरे । डोल्पालाई आफू अनुकुल समयमा मात्र प्रयोग गरिएको उनको भनाइ छ । आकल झुकल उडान गर्ने एयरलाइन्सका जहाजलाई जुफाल विमानस्थलमै बाँधेर राख्नसमेत पछि नहट्ने नगर प्रमुख बुढाले बताए ।

विगतका समयमा यति एयरलाइन्स हुँदै तारा एयरले प्रभावकारी सेवा प्रदान गर्दै आएको भएपनि दशैँ तिहार जस्ता विशेष पर्वको समयमा भने नियमित उडान नगरेको उनले बताए ।

यति एयरलाइन्स नेपालगन्जका स्टेसन म्यानेन्जर दिलिप कार्कीले २२-२३ वर्षसम्म कम्पनीको जहाजले डोल्पालीका लागि नियमित उडान भर्दै आएको तर पछिल्लो समय कम्पनीका जहाज कम भएकाले उडानमा समस्या आएको बताए । उनले भने ‘२२-२३ वर्षसम्म गरेको सेवालाई केही समय सेवा अभाव भयो भन्दैमा उडान अवरोध गर्ने निर्णय हुनु दु:खद हो ।’

स्टेसन प्रमुख कार्कीले नगरपालिकाबाट नियमित उडान नगरे अवरोध गर्ने भनिएको कुनै पनि ब्यहोराको पत्र प्राप्त नभएको बताए ।`

नेपाल वायुसेवा निगम नेपालगन्ज क्षेत्रीय कार्यालयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।