राउटेका महामुखिया महिनबहादुरको निधन

कार्तिक १९, २०८० |चक्र भण्डारी
राउटेका महामुखिया महिनबहादुरको निधन

दैलेख । फिरन्ते जीवन जिउने र जंगलमै बस्ने राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको गएराति निधन भएको छ ।

महामुखिया महिनबहादुर शाही विगत ५ महिनादेखि ढाड दुख्ने समस्याले ओछ्यानमै थला परेका थिए । गाउँघरमै सामान्य तरिकाले ढाडको उपचार गराएपनि शाहीले थप उपचारको लागि जिल्ला बाहिर जान मानेका थिएनन् ।

गत वर्ष उनका छोरा सुरेन्द्र शाहीको आगोले पोलेका बेला उपचार गराउन काठमाडौँ गएको र उनको काठमाडौंमै मृत्यु भएकोले उपचार गराउन महिनबहादुर जिल्ला बाहिर जान नमानेको राउटे परियोजनाका अहेव विनोद बिसीले जानकारी दिए । राउटे सदस्यहरूले मध्य राति नै महामुखियाको अन्त्येष्टि गरिसकेका छन् ।

महामुखियाका १३ सन्तान भएकोमा अहिले १ श्रीमती र १ नाति मात्र रहेका छन् ।

राउटे समुदायमा आफ्ना सदस्यको मृत्यु भएपश्चात् उनीहरू त्यो वासस्थान छोड्ने गर्दछन् ।  राउटेका अहिले ३ वटा मुखिया छन् । जसमा कल्याल, शोवंशी र रास्कोटी- ३ गोत्रका छुट्टा छुट्टै मुखिया छन् । नयाँ महामुखियाको चयन अब ४५ दिनपछि मात्र हुनेछ । यो समयलाई उनीहरूले अशुद्ध समय मान्दछन् ।

दैलेखको भैरवी गाउँपालिका- ३ को कुर्मावती सानो खोलामा ४१ घरका १४१ जना राउटे सदस्य १ महिना अघिदेखि बस्दै आएका थिए ।

 

 

  


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।