गोरखा सैनिकको बहादुरी सम्झँदै देहरादूनमा ‘कलिंगा स्मारक’

आश्विन २९, २०८० |राजेश मिश्र
गोरखा सैनिकको बहादुरी सम्झँदै देहरादूनमा ‘कलिंगा स्मारक’

देहरादून । भारतमा लामो समय शासन गरेका अंग्रेजले नेपालसँगको लडाइँपछि गोरखा सैनिकको बहादुरीको सम्झना सधैं रहनेगरी इतिहास कोरिदिएका छन् । त्यसको साक्षी हो- देहरादूनको कलिंगा स्मारक । देहरादूनको सहस्रधारा रोडमा रहेको स्मारक नालापानी युद्धमा गोरखा सैनिकले देखाएको बहादुरी सम्झाउने प्रतीक हो ।

नालापानीको युद्ध जितेपछि इस्ट इन्डिया कम्पनीले युद्धमा सहिद भएका आफ्ना सैनिकको स्मरणमा स्तम्भ बनाउँदा शत्रु सेना गोरखा सैनिकका कमान्डर बलभद्र कुँवरको नाममा पनि स्मारक बनाए ।

गोरखा सैनिकको वीरता र युद्ध कौशलसँग राम्ररी परिचित अंग्रेजहरुले आफ्ना सैन्य कमान्डरको स्मृतिस्तम्भसँगै गोरखा सैन्य कमान्डरको स्मारक पनि बनाएका छन् । स्मारकमा बलभद्र कुँवरलाई ‘वीर शत्रु’ को उपमा दिँदै गोरखाको बहादुरीप्रति सम्मान जनाइएको छ ।

सन् १८१४ मा देहरादूनको नालापानी किल्लामा भएको युद्धमा गोरखा सैनिकबाट कमान्डर जनरल जिलेस्पीसहित सयौं अंग्रेजी सैनिक मारिएका थिए । भारतीय पुरातत्त्व सर्वेक्षण विभाग मातहत रहेको स्मारक क्षेत्रका शिलालेखमा नालापनी युद्धको चर्चा गरिएको छ । तत्कालीन समयमा नेपाल राज्यको विस्तार कुमाउँ र गढवालसम्म थियो । यो क्षेत्र ९ वर्षसम्म नेपालको अधीनमा रह्‌यो ।

‘त्यतिबेलादेखि अहिलेसम्म यहाँ नेपाली मूलका धेरै मानिसको बसोबास छ,’ वीर गोरखा कल्याण समिति देहरादूनका सचिव देवेन शाहीले भने, ‘नेपालीहरुको बसोबास गढी क्षेत्रमा धेरै छ ।’

देहरादूनमा अंग्रेजले बनाइको ‘कलिंगा स्मारक’ तथा स्थानीय गोरखाहरुको पहलमा जीर्णोद्धार गरिएको ‘नालापानी किला क्षेत्र’ ले सोही युद्धको स्मरण गराउँछ ।

‘अंग्रेजका तोपका गोला, पानीका स्रोतमा विष हाल्ने कार्यपछि नेपाली सेनामा अलि कमजोरी आयो । बलभद्र कुँवरको नेतृत्वमा रहेको नेपाली सेनाले हामी लडाइँदेखि डराउँदैनौं । तिमीहरुसँग हारेका पनि छैनौं । बरु हामी यत्तिकै छाडेर जान्छौं भनेर आफूसँग बाँकी रहेका सेनाहरुलाई लिएर बलभद्रजी जैथक किल्लामा गएका थिए,’ गोरखा डेमोक्रेटिक फ्रन्ट देहरादून, भारतका अध्यक्ष सूर्यविक्रम शाहीले भने ।

देहरादून सहरको घण्टाघरबाट १० किलोमिटर माथि पहाडमा नालापानी किल्ला छ । त्यहाँ गोरखा र अंग्रेजबीच १८१४ अक्टोबर २४ देखि ३० नोभेम्बरसम्म एक महिनाको अवधिमा पटकपटक लडाइँ भएको थियो ।

लडाइँबाट मात्रै विजय प्राप्त गर्न नसकेपछि अंग्रेज सेनाले गोरखा फौजलाई पानीको आपूर्ति नै बन्द गरिदिएको थियो । तिर्खाले व्याकुल भएर बलभद्र कुँवरले आफ्ना ७० सिपाहीका साथ ३० नोभेम्बरको राति स्वेच्छाले किल्ला छाडेका थिए । त्यसपछि मात्रै उक्त क्षेत्र अंग्रेजको नियन्त्रणमा पुगेको थियो ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।