लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, घाइते पाइलटको उद्धार

आश्विन २७, २०८० |भानुभक्त निरौला
लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, घाइते पाइलटको उद्धार

सोलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर आज बिहान खुम्बु क्षेत्रमा दुर्घटनामा परेको छ । 

लुक्ला विमानस्थलबाट बिहान ७ बजेर १३ मिनेटमा खाद्यान्नको कार्गो बोकेर माथिल्लो क्षेत्र गएको हेलिकोप्टर खुम्बु पासाङल्हामु गाउँपालिका- ४ लोबुचेमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर पाइलट मात्र सवार थिए ।

दुर्घटनामा परी हेलिकोप्टर पूर्ण रूपमा जलेको छ भने पाइलट बाच्न सफल भएका छन् । हेलिकप्टर जलेसँगै घाइते भएका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

घाइते पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन । शरद ऋतुको पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा यो पहिलो हवाई दुर्घटना हो ।

यसैबीच पछिल्लो तीन महिनामा दुई वटा हेलिकोप्टर दुर्घटना भएपछि खराब उडान सुरक्षामाथि समीक्षा गर्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको छ ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजन सोलुखुम्बु संवाददाता हुन् ।