विश्वका १४ वटै अग्ला हिमाल चढ्ने तयारीमा पूर्णिमा

भाद्र २०, २०८० |भीमलाल श्रेष्ठ
विश्वका १४ वटै अग्ला हिमाल चढ्ने तयारीमा पूर्णिमा

गोरखा । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये सगरमाथासहित ८ वटा हिमाल चढिसकिन् गोरखाकी पूर्णिमा श्रेष्ठले । एक महिनाअघि मात्रै उनले पाकिस्तानमा रहेको संसारकै दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरिन् । सामान्य किसान परिवारमा हुर्केकी पूर्णिमा अब बाँकी ६ वटा हिमालसमेत चढ्ने योजनामा छिन् । १४ वटै हिमाल चढ्ने पूर्णिमाको साहस आमनेपाली युवाका लागि प्रेरणादायक छ ।

पेसाले फोटो पत्रकार गोरखा आरुघाट गाउँपालिका ९ की ३३ वर्षीया पूर्णिमाले गत साउन १० गते पाकिस्तानमा पर्ने विश्वको दोस्रो अग्लो हिमाल के टुको सफल आरोहण गरिन् । बूढीगण्डकी नदी छेउको आरुटार गाउँको नेवार परिवारमा जन्मिएकी पूर्णिमाले टाढाबाट हिमाल मात्रै देखेकी थिइन् । तर उनले विश्वका ८ मिटर अग्ला १४ वटा हिमालमध्ये सगरमाथासहित ८ वटाको आरोहण गरिसकेकी छन् भने बाँकी ६ वटाको पनि आरोहणको लक्ष्य लिएकी छन् ।

हिमाल आरोहणको सफलतासँगै पूर्णिमाले चर्चा बटुलेकी छन् । हरेकपटक छोरी हिमाल चढ्न जादा पूर्णिमाको बाबुआमालाई चिन्ताले सताउँछ । तर जब आरोहण सफल भएको खबर आउँछ उनीहरु खुसी हुन्छन् । छोरीले सम्मान र चर्चा बटुलिरहँदा पूर्णिमाका बाबुआमालाई खेतीपाती, घाँसदाउरा र वस्तुभाउको स्याहारसुहार गर्दैमा फुर्सद छैन ।

पहिलोपटक सन् २०१७ मा गोरखाको मनास्लु हिमालबाट आरोहण यात्रा सुरु गरेकी पूर्णिमाले श्रेष्ठले २०१८ मा सगरमाथा, २०२१ मा अन्नपूर्ण र धौलागिरि, २०२२ मा कञ्चनजंघा, लोत्से, मकालु र २०२३ मा पाकिस्तानको केटु हिमाल आरोहण गरिसकेकी छन् ।

आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये सगरमाथासहित ८ वटा हिमाल आरोहण गरिसकेकी गोरखाकी पूर्णिमाले बाँकी ६ वटा हिमाल पनि आरोहण गरेर आफ्नो लक्ष्य पूरा गर्ने तयारीमा जुटेकी छन् । 


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका गोरखा संवाददाता हुन् ।