लामजुरा हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव काठमाडौं लगियो

असार २६, २०८० |भानुभक्त निरौला
लामजुरा हेलिकोप्टर दुर्घटना : ६ जनाकै शव काठमाडौं लगियो

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं लगिएको छ ।

सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लामजुरामा दुर्घटना हुँदा क्याप्टेन चेत गुरुङ र मेक्सिकोका नागरिकहरु सीफुयन्तेस जी फेरान्डो, रिनकोन इज्मायल, सीफुयन्तेस जी मारिया होजे, गोन्जालेज ओलाचिओ लुज र गोन्जालेज एब्रिचको मृत्यु भएको थियो । ती ६ जनाकै शव अल्टिच्युट एयरको दुईवटा हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

एउटा हेलिकोप्टरमा दुईवटा र बाँकी चारवटा अर्कोमा गरी शव काठमाडौं लगिएको हो । सबै शव लिखुपिके गाउँपालिका ५ स्थित लामजुराको च्यानडाँडा आसपास क्षतविक्षत अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए । शव उद्धारका लागि प्रमुख जिल्ला अधिकारी, लिखुपिके गाउँपालिकाका अध्यक्ष मीना कार्की बस्नेत, वडाध्यक्ष, जिल्ला प्रहरी प्रमुखलगायतको टोली दुर्घटनास्थल पुगेको थियो ।

सर्वसाधारणले हेलिकोप्टर दुर्घटनाको खबर दिनासाथ सोलुदूधकुण्ड नगरपालिका २, बेनीमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले शव फेला पारेको हो । बिहान १०:०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भकान्जेको काँडेनजिकै ठूलो विस्फोटको आवाज आएपछि स्थानीय कान्छा शेर्पाको टोलीले उक्त स्थानमा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेको थियो । प्रतिकूल मौसमका कारण रुखमा ठोकिएर हेलिकोप्टर खसेको अनुमान गरिए पनि दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले हेलिकोप्टर दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

थप समाचार...

झाडीमा भेटियो दुर्घटनाग्रस्त हेलिकोप्टर (तस्बिरसहित)

६ जनाकै शव भेटियो (नामसहित)

मनाङ एयरको हेलिकोप्टर दुर्घटना अपडेट : क्याप्टेन गुरुङ र ५ विदेशीको परिचय खुल्यो

हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्- कुहिरो लागेको थियो, धुपीसल्लाको रुखमा ठोक्किएर झाडीमा जोतिएछ


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजन सोलुखुम्बु संवाददाता हुन् ।