मनाङ एयरको हेलिकोप्टर दुर्घटना अपडेट : क्याप्टेन गुरुङ र ५ विदेशीको परिचय खुल्यो

असार २६, २०८० |भानुभक्त निरौला
मनाङ एयरको हेलिकोप्टर दुर्घटना अपडेट : क्याप्टेन गुरुङ र ५ विदेशीको परिचय खुल्यो

सोलुखुम्बु । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ ।

हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकोप्टरमा चढेका थिए । हेलिकोप्टरमा मेक्सिकोका सीफुयन्तेस जी फेरान्डो, रिनकोन इज्मायल, सीफुयन्तेस जी मारिया होजे, गोन्जालेज ओलाचिओ लुज र गोन्जालेज एब्रिच चढेका थिए । जिल्ला प्रहरी प्रमुख (डीएसपी) दीपक श्रेष्ठका अनुसार उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले कान्तिपुर टेलिभिजनलाई जानकारी दिइन् ।

भकान्जेको काँडेनजिकै ठूलो विस्फोटको आवाज आएपछि घटनास्थलमा हेर्दा हेलिकप्टर दुर्घटना भएको देखिएको भकान्जेका ङवाङ शेर्पाले जानकारी दिए । ‘हेलिकोप्टरमा ६ जना चढेका रहेका छन्, उनीहरुको शरीर पनि क्षतविक्षत् अवस्थामा देखिन्छ,’ उनले भने ।

यता पालिका अध्यक्ष बस्नेतले पनि दुर्घटनालाई पुष्टि गरेकी छिन् । ‘च्यानडाँडामा चौरी गोठालाहरु हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन्, ६ जना चढेका रहेछन्,’ उनले कान्तिपुर टेलिभिजनसँग भनिन् ।

लुक्ला विमानस्थलका एटीसी अफिसर सागर कँडेलका अनुसार हेलिकोप्टर लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

हेलिकोप्टर दुर्घटनामा परेका पाँचजनाको शव भेटियो


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजन सोलुखुम्बु संवाददाता हुन् ।