मधेश केन्द्रित नेतामा पार्टी फेरबदलको होड

आश्विन १३, २०७९
मधेश केन्द्रित नेतामा पार्टी फेरबदलको होड

मधेसका मुद्धा उठाएर शक्तिमा उदाएका मधेस केन्द्रीत दल अहिले छिन्नभिन्न भएका छन् । त्यति मात्र होइन, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गरेका बेला पार्टी परित्याग गर्नेको लर्को नै लागेको छ । मधेस केन्द्रित दलका प्रभावशाली नेताहरु नै ठूला पार्टीमा प्रवेश गर्न थालेपछि आगामी निर्वाचनपछि ती दलको हैसियत कमजोर हुने आँकलन गर्न थालिएको छ । पार्टी भिन्नभिन्न हुने र अर्को पार्टीमा प्रवेश गर्ने लहर नै चल्नुलाई पार्टीभित्रको वेथिति मात्र नभएर अवसरवादका रुपमा समेत अर्थ्याइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरे । उनी मात्र होइन, जनता समाजवादी पार्टीका सांसद अमृता अग्रहरी, कैलुदेवी विश्वकर्मा, प्रदेश सभा सदस्य डा. रिना यादवसहितका नेतासमेतले पार्टी परित्याग गर्दै एमाले रोजे । यसअघि नै जसपाका प्रतिनिधिसभा सदस्य रुही नाज, प्रदेशसभा सदस्य अन्जुकुमारी यादव, लोसपाका नेता तथा पूर्वराज्यमन्त्री अरिवन्द्र साह, लोसपाका प्रदेशसभा सदस्य प्रह्लाद गिरी एमाले प्रवेश गरे । यता लोसपाकी सांसद रहेकी चन्दा चौधरी नै कांग्रेस प्रवेश गरिन् । पार्टीमा चरम बेथिति र अवसरवाद मौलाएको आरोप लगाउँदै उनीहरुले मधेस केन्द्रीत दल छाडेका हुन् । 

मधेस आन्दोलनबाट स्थापित भएका दल तथा नेताहरु राजनीतिको मूलधारमै उदाएका थिए । सत्ता समीकरणमा मधेस केन्द्रीत दल निर्णायक नै बने । त्यसैको फाइदा उठाउँदै उनीहरु पटकपटक सरकारमा पुगे । तर अहिले उनीहरु नै छिन्नभिन्न मात्र भएका छैनन्, नेताहरु नै अर्को पार्टी रोज्दै हिँडेपछि कमजोरसमेत बनेका छन् । त्यति हुँदा पनि मधेस केन्द्रीत दलहरुले आफूलाई बलियो नै रहेको दाबी गर्न भने छाडेका छैनन् ।

उपेक्षित उत्पिडित समुदायका मुद्धा स्थापित गर्न भन्दै गठन बनेका मधेस केन्द्रीत दलभित्रै विचलन आएको छ । व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दल टुटफुट र विभाजनको श्रृंखलामा रमाइरहँदा मधेसका माग र मुद्धा भने ओझेलमा परेका छन् ।