किसानलाई न मल न बीउ

असार ५, २०७९
किसानलाई न मल न बीउ

मनसुन सुरु भइसँगै धान रोपाईं पनि सुरु भएको छ । तर किसानले गत वर्षहरुमा जस्तै यो वर्ष पनि न गतिलो बीउ पाए, न त रासायनिक मल नै । सरकार कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने रटान लगाउन छाडेको छैन । तर मानो रोपेर मुरी उब्जाउने समयमा किसान निरास छन् । 

सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा धान र चामल पर्दछन्।सरकारले तीन वर्षभित्र धान चामलसहित मुख्य खाद्यान्न बालीको उत्पादन बढाई आयात घटाउने घोषणा गरेको छ । तर स्पष्ट योजना बनाउन भने सरकार उदासिन छ । सरकारी अक्षमताकै कारण यो वर्ष मल र बीउ किसानले पाउन नसकेका हुन् । 

यसै पनि कृषिको उत्पादकत्व घटिरहेको छ । त्यसमाथि रासायनिक मल नहुँदा उत्पादकत्व थप घट्ने देखिादैछ । तर सरकारको भर नपरी रैथाने वस्तुको उपभोग र प्राङ्गारिक मल प्रयोग गर्न सके उत्पादन केही मात्र भने बढाउन सकिन्छ ।

नेपाली किसानले यो वर्ष ७० लाख टनभन्दा धेरै धान उत्पादन गर्नुपर्ने छ । नेपालीको विहान-साँझ नै भात खाने बानीका कारण अहिले उत्पादित ५५ लाख टन धानले पुगेको छैन । धान लगाउने समयमा कृषि सामग्रीमा लगानी गर्न ढिला गर्ने हो भने मंसिर पुसपछि फेरि परनिर्भरता चुलिने निश्चित नै छ ।