गाजामा युद्ध बिरामका लागि कतार र इजिप्टले अघि सारेको प्रस्तावमा हमास सहमत

इजरायलले वार्ताका लागि प्रतिनिधि कायरो पठाउँदै
रफाहमा आक्रमण भने जारी
वैशाख २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामा युद्ध बिरामका लागि कतार र इजिप्टले अघि सारेको प्रस्तावमा हमास सहमत

काठमाडौं । इजरायलसँग विगत ७ महिनादेखि गाजामा जारी युद्ध बिरामका लागि हमासले इजिप्ट र कतारले पेस गरेको प्रस्तावलाई स्वीकार गरेको छ । हमासका प्रमुख नेता इस्माइल हानियाले हिजो नै कतारका प्रधानमन्त्री मोहम्मद विन अब्दुल रहमान विन जासिम अल–थानीसहित मध्यस्थताकर्ता मुलुकका अधिकारीलाई फोनमार्फत प्रस्ताव स्वीकार गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मध्य पूर्वमा जारी युद्धलाई रोक्न कतार र इजिप्टले मध्यस्थता गरिरहेका छन् । हमासको स्वीकारोक्तिबारे इजरायलले कुनै टिप्पणी गरेको छैन । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संघर्ष विरामको उक्त प्रस्ताव इजरायलको मागभन्दा भिन्न रहेको जनाएका छन् । उक्त प्रस्तावमा छलफलका लागि आफ्ना प्रतिनिधि इजिप्टको कायरो पठाउने विषयमा भने नेतन्याहू केही लचिलो भएका छन् ।

वार्ता जारी रहेकै बेला हमासले आइतबार गरेको इजरायली सीमालक्षित आक्रमणमा तीन इजरायली सेनाको मृत्यु भएपछि जवाफमा इजरायलले रफाहमा पुनः आक्रमण गर्ने निर्णय गरेको छ । हिजो बसेको इजरायलको युद्ध मन्त्रीपरिषद् बैठकले गाजाको रफाहमा आफ्नो सैन्य कारबाही जारी राख्ने निर्णय गरेको हो । इजरायलका हवाई र स्थल सेनाले गरेको पछिल्लो कारबाहीमा पूर्वी रफाहमा ४ र दक्षिणी रफाहमा ८ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.