काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले भारत र जापान आप्रवासीविरोधी राष्ट्र भएको भन्दै आलोचना गरेका छन् ।
एसियाली-अमेरिकीहरुको भेलालाई बुधबार सम्बोधन गर्दै बाइडनले आफ्ना दुई क्वाड साझेदार मुलुक भारत र जापानको आलोचना गरेका हुन् । उनले दुवै मुलुकले अमेरिकाजस्तो आप्रवासीलाई स्वागत नगरेको आरोप लगाए ।
अमेरिकी अर्थतन्त्र सुदृढ बनाउनुमा आप्रवासीको मुख्य भूमिका रहेको उल्लेख गर्दै उनले आगामी चुनावमा सहयोग गर्न अपिल गरे । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा बाइडनको डेमोक्रेटिक पार्टीले आप्रवासी नीतिलाई मुख्य एजेन्डाका रुपमा अघि सारेको छ । आप्रवासी नीतिलाई रिपब्लिकनले पनि प्राथमिकता दिएको छ ।
बाइडनले आफ्ना समर्थकलाई चीन, जापान, रुस र भारत आप्रवासीविरोधी राष्ट्र भएका कारण उनीहरु आर्थिक रुपमा सुस्त र समस्या भोगिरहेको पनि टिप्पणी गरे ।
बाइडेनको अभिव्यक्तिप्रति जापान र भारत दुवै देशले आपत्ति जनाएका छन् । जापानले दुर्भाग्यपूर्ण भन्दै प्रतिक्रिया दिएको छ । उता भारतका विदेश मन्त्री एस. जयशंकरले बाइडनको अभिव्यक्तिको खण्डन गर्दै भारत सदैव अप्रवासीका लागि खुला रहेको स्पष्ट पारेका छन् । भारतीय अर्थतन्त्र ट्र्याकमा रहेको समेत उनको भनाइ छ ।