टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो, उद्धार कार्य जारी

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो, उद्धार कार्य जारी

काठमाडौं । टर्कीमा गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म ३ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ३८ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार टर्कीमा मात्रै भूकम्पमा परी २ हजार ३७९ जनाको मृत्यु भएको छ भने १४ हजार ४८३ जनाभन्दा बढी घाइते भएका छन् ।

उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि मृत्यु हुनेको संख्या १४ हजार ४४ पुगेको छ ।

टर्की र सिरियामा गरी हालसम्म ३ हजार ८२३ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ११ मिनेटको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्पले दक्षिणी टर्कीका दश वटा प्रान्त नराम्ररी प्रभावित भएका छन् ।

भूकम्प प्रभावित दक्षिणी टर्की र उत्तरी सिरियाको धेरै जसो क्षेत्रमा उद्धार कार्य जारी रहेको बीबीसीले जनाएको छ । टर्की र सिरियाका उद्धारकर्मीहरु भत्केका भवनहरुमा फसेका मानिसहरुलाई बाहिर निकाल्न खटिरहेका छन् ।

विश्वका शीर्ष नेताहरुले टर्कीलाई सहायता गर्ने वचन दिँदै अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन् ।

भूकम्पले ठूलो जनधनको क्षति भएपछि टर्कीले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै आगामी फेब्रुअरी १२ (आइतबार) सम्म राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.