ताइवानकी राष्ट्रपति वेनद्वारा पार्टी प्रमुखको पदबाट राजीनामा

मंसिर ११, २०७९
ताइवानकी राष्ट्रपति वेनद्वारा पार्टी प्रमुखको पदबाट राजीनामा

बेइजिङ । ताइवानकी राष्ट्रपति साइ इंग वेनले स्थानीय निर्वाचनमा पार्टीको पराजयपछि सत्तारुढ दल डेमोक्रयाटिक प्रोग्रेसिभ पार्टी डीपीपीको प्रमुख पदबाट राजीनामा दिएकी छन् ।

शनिवार भएको निर्वाचनमा विपक्षी कोमिनताङ्ग पार्टीले राजधानी ताइपेइ लगायतका विभिन्न शहरका महत्वपूर्ण स्थानहरुमा विजय प्राप्त गरेको छ । २१ शहरका मेयर र काउन्टी प्रमुख पदका लागि भएको निर्वाचनमा कोमिनताङ्ग पार्टीले १३, सत्तारुढ डीपीपीले पाँच, ताइवान पिपुल्स पार्टीले एक र स्वतन्त्र उम्मेदवारले दुई स्थानमा जित हात पारेको सिन्हृाले जनाएको छ । 

चीनसँगको तनाव बढिरहेका बेला राष्ट्रपति साइले स्थानीय निर्वाचनलाई प्रजातन्त्रको पक्षमा ताइवानी जनताको समर्थनका रुपमा प्रस्तुत गरेकी थिइन् । तर निर्वाचनको परिणाम चीनप्रति झुकाव राख्ने विश्वास गरिएको दल कोमिनताङ्गको पक्षमा गएपछि साइले पार्टी प्रमुख पदबाट राजीनामा दिएकी हुन् ।

निर्वाचनको परिणाम अपेक्षा गरेअनुसार नआएकोले त्यसको नैतिक जिम्मेवारी लिँदै आफूले पार्टी प्रमुख पदबाट राजीनामा दिएको साइले बताएकी छन् । राष्ट्रपतिका रुपमा भने उनले आफ्नो कार्यलाई निरन्तरता दिइरहने छिन् । 

चीनसँगको ताइवान नीतिका सम्बन्धमा स्थानीय निर्वाचनको प्रत्यक्ष साइनो नभए पनि साइ र उनको दलका अन्य नेताले भने राष्ट्रियताको विषयलाई प्रमुख मुद्दा बनाउने प्रयास गरेका थिए । तर आवास, सामाजिक सुरक्षा तथा अपराध जस्ता विषय स्थानीय निर्वाचनको मुख्य मुद्दा बनेको समाचारमा जनाइएको छ । मतदाताहरुले मतदान गर्न पाउने उमेरलाई २० बाट घटाएर १८ वर्ष पुर्‍याउने प्रस्तावलाई पनि अस्वीकृत गरिदिएका छन् । स्थानीय निर्वाचनसंगै उक्त प्रस्तावमा जनमत संग्रह पनि गराइएको थियो ।

ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएपनि चीनले भने उसलाई आफूबाट छुटि्टएको टापुका रुपमा हेर्ने गर्दछ भने चीनमा पुन: एकीकरण गरिछाड्ने दृढता व्यक्त गर्दै आएको छ ।


Enter Kantipur TV HD
Advertisement