बिरामीसँग कमिसन खाने ६६ डाक्टर कारबाहीको सूचीमा

माघ १३, २०७९ |नारायण किलम्बू
बिरामीसँग कमिसन खाने ६६ डाक्टर कारबाहीको सूचीमा

काठमाडौं । स्वास्थ्य उपचारका नाममा डाक्टरहरुले अनावश्यक परीक्षण र औषधिको सिफारिस गर्ने गरेको गुनासो सुनिँदै आएको छ । यसले उपचार खर्च बढाउँदा बिरामी र तिनका आफन्त मर्कामा पर्ने गरेका छन् । तर, अबदेखि डाक्टरहरुले त्यस्तो गर्न पाउने छैनन् । अनावश्यक परीक्षण गर्न लगाई बिरामीबाटै कमिसन खाने गरेको पाइएपछि मेडिकल काउन्सिलले त्यस्ता डाक्टरलाई कारबाही गर्न सुरु गरेको छ ।

अस्पताल होस् वा स्वास्थ्य केन्द्र, चिकित्सकले कमिसन आउने लोभमा बिरामीलाई अनावश्यक रुपमा विभिन्न किसिमका स्वास्थ्य परीक्षण गर्न लगाउने गरेको पाइएको छ । रोग पहिचान गर्न आवश्यक नै नपरे पनि धेरैथरिका रक्तपरीक्षण, इसिजी, इको, सिटीस्क्यान, अल्ट्रासाउन्डलगायत परीक्षण गराउने गरिएको छ । यतिमात्र होइन अप्रेसनसमेत गराउनेजस्ता विकृति पाइएपछि नेपाल मेडिकल काउन्सिलले त्यस्ता डाक्टरलाई कारबाही गर्न थालेको छ । काउन्सिलले अहिलेसमम ६६ डाक्टरलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

कमिसनको लोभमा अनावश्यक रुपमा बिरामीलाई थरिथरिका स्वास्थ्य परीक्षण गराउनु आचारसंहिताविपरीत छ ।

आन्तरिक राजस्व कार्यालयको तथ्यांकले पनि कतिपय डाक्टरले अस्वाभाविक रुपमा कर तिरेको देखाएको छ । त्यसैका आधारमा कार्यालयले चिकित्सकहरुको पान नम्बर छानबिन गर्नसमेत काउन्सिललाई आग्रह गरेको छ । डाक्टरले अनावश्यक रुपमा परीक्षण गर्न लगाउँदा जग्गाजमिन नै बेच्न बाध्य परेको दुखेसो बिरामीको छ ।

कमिसनको लोभमा अनावश्यक रुपमा बिरामीलाई थरिथरिका स्वास्थ्य परीक्षण गराउनु आचारसंहिताविपरीत त छ नै, यस्तो प्रवृत्ति आपराधिक कार्यसमेत भएको स्वयं चिकित्सकहरु बताउँछन् । यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने चिकित्सक संघकै भनाइ छ ।

आर्थिक लाभ लिने गरी बिरामीलाई अनावश्यक रुपमा विभिन्न किसिमका परीक्षण गराउने गरेको पाइए त्यस्ता चिकित्सकलाई सचेत गराइने, दुई महिना निलम्बन वा लाइसेन्स खारेजसम्म हुनसक्ने कानुनी प्रावधान छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।