सकियो एसईई : विद्यार्थीका योजना कस्ता ?

न्यायाधीश बन्नेदेखि विदेश जाने विद्यार्थीका तयारी
चैत्र २३, २०८० |सुन्दर शिल्पकार
सकियो एसईई : विद्यार्थीका योजना कस्ता ?

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सकिएको छ । एसईईमा पाँच लाख चार हजारभन्दा बढी सहभागी भए । विद्यालय तहको पहिलो फलामे ढोका मानिएको एसईई उत्तीर्णपछि विद्यार्थीले भविष्यमा के बन्ने भन्ने निर्णयसहित कक्षा ११ र १२ को अध्ययन गर्नेछन् । एसईई दिएकाहरुले भावी योजना चाहिँ कस्तो बनाउँदै छन् त ? भिन्दाभिन्दै छन्- हिमालदेखि तराईसम्मका एसईई दिएका विद्यार्थीका भावी योजना ।

हिमाली जिल्ला ताप्लेजुङबाट एसईई दिएका विद्यार्थी भावी योजना बनाउन थालिसकेका छन् । कोही उच्च शिक्षा अध्ययन गरेर नर्सिङ त कोही समाज सेवामा लाग्ने तयारीमा छन् । पहाडी जिल्ला धनकुटाका एसईई दिएका विद्यार्थीको चाहना पनि फरक-फरक छ ।

अर्को हिमाली जिल्ला संखुवासभाका एसईई दिएका विद्यार्थी भने उच्च शिक्षा अध्ययनपछि ग्रामीण भेकमा पुगेर सेवा गर्ने सोचमा छन् । व्यापारिक सहर विराटनगरका विद्यार्थीको चाहना पनि फरक-फरक छन् ।

सांस्कृतिक सहर भक्तपुरका विद्यार्थी पर्यटनदेखि न्यायिक क्षेत्रमा लाग्ने योजनामा छन् । मधेस प्रदेशको रौटहतका विद्यार्थी सरकारी सेवामा प्रवेश गर्नेदेखि न्यायाधीश बनेर अन्यायविरुद्ध लड्नेसम्मका योजनामा छन् ।

उता कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थी कक्षा १२ अध्ययनपछि विदेश जाने योजना अहिलेदेखि नै बनाउन थालेका छन् ।

एसईई दिएका अधिकांशको चाहना देशभित्रै केही न केही सकारात्मक काम गर्ने देखिन्छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।