आईसीसीद्वारा महिला टी-ट्वेन्टी विश्वकपको तालिका सार्वजनिक

वैशाख २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसीद्वारा महिला टी-ट्वेन्टी विश्वकपको तालिका सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसै वर्ष अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने महिला टी-ट्वेन्टी विश्वकपको तालिका सार्वजनिक गरेको छ ।

ढाकामा आज आयोजित कार्यक्रममा महिला टी-ट्वेन्टी विश्वकपको तालिका सार्वजनिक गरिएको हो । यस विश्वकपमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा ६ पटकको च्याम्पियन अस्ट्रेलियासहित भारत, पाकिस्तान, न्युजिल्यान्ड र क्वालिफायर-१ टोली सामेल छन् । यस समूहका सबै खेल सिलहटमा आयोजना हुनेछन् ।

समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र क्वालिफायर-२ टोली छन् । यस समूहका सबै खेल ढाकामा हुनेछन् । अक्टोबर ३ मा प्रतियोगिताको उदघाटन खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्नेछन् । सोही दिन अस्ट्रेलिया र क्वालिफायर-१ टोली आमने-सामने हुनेछन् ।

१८ दिन चल्ने प्रतियोगितामा २३ खेल हुनेछन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल अक्टोबर १७ मा सिलहटमा र दोस्रो सेमिफाइनल १८ अक्टोबरमा ढाकामा हुनेछ । फाइनल अक्टोबर २० मा ढाकामा हुनेछ ।

विश्वकपका लागि क्वालिफायर-१ र क्वालिफायर-२ को निर्णय मे ७ मा हुने आईसीसी महिला टी-ट्वेन्टी विश्वकप छनोटको फाइनलबाट हुनेछ । छनोटको सेमिफाइनलमा आयरल्यान्डविरुद्ध स्कटल्यान्ड र श्रीलंका तथा यूएई प्रतिस्पर्धा गर्नेछन् । सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म ढाकामा १० अभ्यास खेल हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.