शिक्षाको हब बन्दै लुम्बिनी प्रदेश, नर्सिङदेखि आयुर्वेदशास्त्रसम्मको पढाइ (भिडियो रिपोर्ट)

माघ २५, २०७९ |अमृता अनमोल
शिक्षाको हब बन्दै लुम्बिनी प्रदेश, नर्सिङदेखि आयुर्वेदशास्त्रसम्मको पढाइ (भिडियो रिपोर्ट)

दाङ । देशको मध्यभागमा पर्ने लुम्बिनी प्रदेश शिक्षाको हब बन्दै गएको छ । आधुनिक र व्यावसायिक विषयको उच्च तहको पढाइ हुन थालेपछि लुम्बिनी प्रदेशमा देशभरका विद्यार्थीको आकर्षण बढेको हो । 

लुम्बिनी प्रदेशमा चिकित्साशास्त्रदेखि सूचनाप्रविधि र प्राविधिक विषय पढाइ हुने गुणस्तरीय शिक्षण संस्थाहरु छन् । यसले पढ्नकै लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै गएको छ । यहाँका शैक्षिक संस्थाले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशबाट समेत उल्लेख्य संख्यामा विद्यार्थी आकर्षित गरिरहेका छन् ।

लुम्बिनी प्रदेशमा चिकित्साशास्त्र पढाइ हुने ४ वटा मेडिकल कलेज छन् । यीनमा एमबीबीएस र बीडीएससहित पोस्ट ग्रेजुएट (पीजी) तहकोसमेत पढाइ हुन्छ। प्रदेशमा बीएससी नर्सिङ, प्याथोलोजी, फिजियोथेरापी, रेडियोलोजी, फार्मेसी, जनस्वास्थ्य र आर्युवेदशास्त्रमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन्।

रूपन्देहीको तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको प्रक्रियामा छ । उच्च शिक्षामा करिब २० हजार विद्यार्थीलाई पढाउन सक्ने क्षमता रहेको प्रदेशमा साधारणतर्फ पत्रकारिता, होटल म्यानेजमेन्ट, कानुन, ग्रामीण विकासलगायतका विषय पढ्न पाइन्छ । फुड टेक्नोलोजी, होटल म्यानेजमेन्ट, ल्याब टेक्निसियन र इन्जिनियरिङजस्ता विषयका स्नातक र डिप्लोमा तह पढाउने क्याम्पसहरु पनि पर्याप्त छन् ।

यस प्रदेशमा ३ वटा त विश्वविद्यालय नै छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध विश्वविद्यालय छ । दाङमा नेपाल संस्कृत विश्वविद्यालय छ । त्यस्तै प्रदेश सरकारले बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गरेको छ ।

कृषि विज्ञानमा उच्च शिक्षा दिन सरकारीस्तरको पक्लिहवा कृषि क्याम्पस छ । सीटीईभीटीअन्तर्गतका ४५ वटा शिक्षालय छन् ।

प्रदेशमा १२ कक्षासम्म पढाइ हुने ६ सय ४४ मावि छन् । सामुदायिक ८८, आंगिक १६ र निजी ८० गरी १ सय ८५ वटा क्याम्पसले उच्च शिक्षा प्रदान गर्छन् । यी क्याम्पसहरुले त्रिभुवन, पूर्वाञ्चल, काठमाडौं र पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका छन् ।

सूचनाप्रविधितर्फ बीएससी, सीएसआईटी, बीआईटी, बीसीए, बीआईएमलगायतका आधुनिक विषय पढाइ हुने शैक्षिक संस्थाहरु पनि जिल्ला-जिल्लामा छन् । शिक्षामा सरकारी लगानी बढाई सस्तो र सर्वसुलभ बनाउने हो भने उच्च शिक्षामा सर्वसाधारणको पहुँच पुग्ने छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।