लोपोन्मुख लेप्चा भाषाको संरक्षणमा इलामको रोङ गाउँपालिका सक्रिय (भिडियो रिपोर्ट)

माघ १४, २०७९ |विप्लव भट्टराई
लोपोन्मुख लेप्चा भाषाको संरक्षणमा इलामको रोङ गाउँपालिका सक्रिय (भिडियो रिपोर्ट)

इलाम । लोपोन्मुख लेप्चा जातिको भाषा संरक्षण गर्ने उदेश्यले इलामको रोङ गाउँपालिकामा लेप्चा भाषाको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गरिएको छ । लेप्चाको बाहुल्यता रहेको रोङ - ३ चिण्डेपानीस्थित शारदा आधारभूत विद्यालयले लेप्चासहित भुजेल र अन्य समुदायका विद्यार्थीलाईसमेत लेप्चा भाषा अध्यापन गराइरहेको छ ।

इलामको रोङ गाउँपालिकाले २ वर्षअघि कक्षा १ देखि ५ सम्मको लेप्चा भाषामा पाठ्यक्रम तयार पारेको हो । यस पालिकामा अन्यत्रभन्दा लाप्चा जातिको बसोबास बाक्लो छ । सुरुमा गाउँपालिकाले कक्षा १ को पाठ्यपुस्तक लेखन गरी पढाइ सुरु गरेको हो ।

लेप्चा जातिहरुको बसोबास इलामका केही पालिका र झापाको बुद्धशान्ती गाउँपालिकामा मात्र छ । लाप्चा भाषाको मातृभाषालाई रोङ भनिन्छ । इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न वडाहरुमा लाप्चा समुदायको बसोबास छ । पालिकाले १, ४ र ६ को पाठ्यपुस्तक 'हाम्रो रोङ गाउँपालिका' लेखन गरी छपाई सम्पन्न गरेको छ । पालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत विद्यालय छन् । मातृ माषाको पढाईले समुदायमा उत्साह आएको छ ।

जनगणना २०६८ अनुसार लाप्चाको जनसंख्या तीन हजार चार सय ४५ रहेको पाइएको छ । जसमध्ये तीन हजार दुई सय ६४ जना ग्रामीण र एक सय ८१ जना शहरी क्षेत्रमा बस्ने गरेको तथ्याङ्कमा छ । छिमेकी देश भारतका दार्जिलिङ, सिक्किम, कालेङबुङलगायत विभिन्न विद्यालयमा लाप्चा भाषाको पढाई हुने गरेको छ । 


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।