भारतसँग विद्युत आयात अनुमति नवीकरण हुन्छ, लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री बस्नेत

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
भारतसँग विद्युत आयात अनुमति नवीकरण हुन्छ, लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको चर्चा सही नभएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरु आए अनुसारको समस्या नभएको दाबी गरेका हुन् । उनले केही दिनदेखि 'भारतबाट विद्युत खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ' भन्ने चर्चा निराधार भएको बताए । 

उनले विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको जनाए । मन्त्री बस्नेतले भने,'बाहिर आएजस्तो भारतले विद्युत आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था होइन । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको छ । अनुमति नवीकरण हुन्छ, लोडसेडिङ हुँदैन ।' 

भारतबाट बिजुली खरिदका लागि हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । उक्त नवीकरण भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको समाचार आएपछि मन्त्री बस्नेतले प्रष्टीकरण दिएका हुन् । 

नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिब ६ सय मेगावाटभन्दा बढी विद्युत आयात गर्दै आएको छ । तर पनि नेपालका औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगी-व्यवसायीको आरोप छ । 

ऊर्जामन्त्री बस्नेतले पनि विराटनगर करिडोरमा विद्युत आपूर्तिमा समस्या रहेको स्वीकार गरेका छन् । उनले गत वर्ष पूर्वपहाडी जिल्लामा गएको बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा भएको क्षतिको असर विराटनगर करिडोरमा परेको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement