सप्तरी । मधेश प्रदेश देशकै अन्न भण्डार हो । यहाँ कुल राष्ट्रिय उत्पादनको २० प्रतिशत अन्न उत्पादन हुन्छ । तर यो उत्पादन दोब्बर हुनसक्ने अवस्था रहँदा पनि समुचित ढंगले सिँचाइको व्यवस्था नहुँदा किसानले बर्खे, हिउँदे र नगदे तीनै बालीबाट उचित उत्पादकत्त्व प्राप्त गर्न सकेका छैनन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित प्रितमपुरका किसान सिकिन्द्र सदाको आफ्नो नम्बरी जग्गा छैन । उनले अरूको दुई बिघा भाडामा लिएर खेती गर्दै आएका छन् । नहरको पानीले पुग्दैन तर नम्बरी जग्गा नभएकै कारण उनले सिँचाइको लागि कृषि विद्युत् मिटर जडान गर्न सकेका छैनन् ।
कोसी ब्यारेजबाट निकालिएको पश्चिमी नहर भारतले उतै लगेपछि सप्तरीका केही भूभागमा सिँचाइ पुर्याउने उद्देश्यले पम्प नहर प्रणाली स्थापना गरियो । त्यसबाहेक सप्तरीमा एक सय वर्ष पुरानो चन्द्र नहर र वितरण प्रणाली तथा सिँचाइ कार्यालयबाट सञ्चालन हुने साना तथा कुलो सिँचाइ प्रणालीबाट मुस्किलले २० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगिरहेको छ । जबकि सप्तरीमा मात्रै ७४ हजार हेक्टर खेतीयोग्य जमिन छ ।
मधेसका आठवटै जिल्लामा सिँचाइ पुर्याउन कोसी पश्चिमी नहर, चन्द्र नहर, कमला, वागमती, नारायणीसहितका सिँचाइ प्रणाली छन् । तर सबैजसो पुरानो भएर क्षमताको आधा पनि सिँचाइ पुर्याउने अवस्था छैन । कुल ५ लाख ७४ हजार ३६० हेक्टर सिँचाइयोग्य जमिनमध्ये ६५ प्रतिशतमा सिँचाइ पुगेको सरकारी आँकडा भए पनि वास्तविकता भने त्यस्तो छैन ।
सिँचाइ अभावकै कारण मधेश प्रदेशमा एक लाख ७४ हजार १५१ हेक्टरमा मात्रै गहुँ खेती हुने गरेको छ । दलहनसहितका नगदे बाली पनि कमै लगाइन्छ । मौसमी सिँचाइ प्रणाली र भारतले कोसी नहरमा पानी छाडेअनुसार नै वितरण हुनेजस्ता समस्या मधेसमा उत्पादकत्व बढ्न नसकेको हो । यसबाहेक उन्नत बीउ र मलखादको समस्या त छँदै छ । नेताहरू भने आफूले मधेशको सिँचाइ प्रणाली सुधार गर्न रणनीतिक योजना बनाए पनि त्यसले निरन्तरता नपाउँदा समस्या भएको भन्दै पन्छिन् खोज्छन् ।
सुनकोशी कमला डाइभर्सन र सुनकोशी मरिन डाइभर्सन परियोजना पूरा हुन सकेमा मधेशमा खेतीयोग्य जनिनको क्षेत्रफल बढ्नुको साथै बाह्रैमहिना सिँचाइ गर्न सकिने आशा किसान छ तर यी महत्त्वकांक्षी परियोजनाको चर्चा दशकौं अघिदेखि उठेको भए पनि हालसम्म अपूरै छन् ।
यो पनि...