इनरुवा-तुम्लिङटार २२० केभी कोशी कोरिडोरको सबस्टेसन सञ्चालनमा

पहाडी जिल्लामा विद्युत् अवरुद्ध हुने समस्या हट्यो
माघ १०, २०८० |दीपेन्द्र शाक्य
इनरुवा-तुम्लिङटार २२० केभी कोशी कोरिडोरको सबस्टेसन सञ्चालनमा

सङ्खुवासभा । सङ्खुवासभाको बानेश्वर, तुम्लिङटार र वसन्तपुरमा २ सय २० केभीको कोशी कोरिडोरको सबस्टेसन सञ्चालनमा आएपछि भोल्टेज नपुग्ने र बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्याबाट कोशी प्रदेशका पहाडी क्षेत्रका स्थानीय मुक्त भएका छन् । सुनसरीको इनरुवा-तुम्लिङटार १ सय ६ किलोमिटर खण्ड सिंगल सर्किट प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्वी पहाडमा समस्या हटेको हो । 

कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि पूर्वाधार तयार भएपछि यी जिल्लामा विद्युत् अनियमितता हटेको छ । 

त्यससँगै स्थानीय स्तरमा उत्पादन भएको बिजुली पनि केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । सङ्खुवासभामा मात्रै २ सय २० केभी क्षमताको ३ वटा प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरण गर्न सहज भएको हो ।

आयोजनाअन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार, बानेश्वर र वसन्तपुरमा २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेशन नहुँदा हावाहुरी लाग्दा पनि महिनामा १५ दिनसम्म बिजुली अनियमित हुने गरेको थियो ।

यसअघि जिल्लामा उत्पादन गरिएको बिजुली केन्द्रीय प्रशारणलाइनमार्फत आउँदा भोल्टेज नपुग्ने र बेलाबेलामा अवरुद्ध हुने समस्या स्थानीयले भोग्दै आएका थिए । २ सय २० केभी प्रसारण लाइन र सबस्टेशन सञ्चालनमा आएपछि यस क्षेत्रमा भोल्टेज सुधार भएको र विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको स्थानीयले महसुस गर्न थालेका छन् ।

कोशी प्रदेश सङ्खुवासभा लगायत भोजपुर, तेह्रथुम र ताप्लेजुङ विद्युत्‌को हबको रूपमा चिनिन्छ । यहाँ निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी कोरिडोरको निर्माण गरिएको हो ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।