अल्लोले बनायो स्वरोजगार

माघ २, २०८० |दीपेन्द्र शाक्य
अल्लोले बनायो स्वरोजगार

संखुवासभा । संखुवासभाका महिला जंगलमा पाइने अल्लोबाट कोट, टोपी, जुत्तालगायत सामग्री बनाउने सीपका कारण स्वरोजगार भएका छन् । स्थानीयस्तरमा रहेको सम्भावनाको पहिचानले विनालगानी र कम मिहिनेतमै गाउँमा स्वरोजगारी सिर्जना भएको छ ।

संखुवासभा बालाकी कृष्णकुमारी कुलुङलाई अल्लोले स्वरोजगार बनाएको छ । उनी जंगलमा खेर गइरहेको अल्लोबाट कोट, सल, पर्स, झोला, टोपी, जुत्तालगायत विभिन्न सामग्री बनाउँछिन् । यस्ता सामग्री देश-विदेशमा बेचेर वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न उनी सफल भएकी छन् । उनले चलाएको अल्लो कपडा उद्योगमा सिस्नो टिप्नेदेखि तान बुनेर कपडा उत्पादन गर्ने काममा तीन सय बढी महिलाले रोजगारी पाएका छन् ।

अल्लोबाट बनेका सामग्रीको माग बढ्न थालेपछि कलुङजस्तै संखुवासभाका एक हजारभन्दा बढी महिला आत्मनिर्भरताको बाटोमा छन् । ‘हामीलाई रोजगारी प्राप्त भएको छ । हामी सबैलाई अल्लोले नै रोजगारी दिएको हो,’ संखुवासभाकी व्यवसायी विष्णुकुमारी कुलुङले भनिन् ।

आयआर्जनमा जोडिए दाङका २ सय मुक्त कमलरी

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाले वार्षिक ३३० जनाभन्दा बढी साना तथा घरेलु उद्योगीलाई विभिन्न प्रकारका सीपमूलक तालिमसमेत दिँदै आएको छ । यस्तो तालिम अल्लोका सामग्री बनाउने काममा उपयोगी बनेको छ । घरेलु कार्यालयमा ३३ सय साना उद्योगीले व्यवसाय दर्ता गरेका छन् ।

‘अल्लोलाई प्रविधीकरण गर्ने । अल्लो व्यवसायलाई संगठित गर्ने र तालिमहरु दिने काम गरेका छौं,’ घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाका प्रमुख प्रेमचन्द्र कुलुङले भने, ‘यसले पनि व्यवसायमा लाग्नेहरु लाभान्वित हुनुभएको छ ।’

संखुवासभाको सिलिचोङ गाउँपालिकाको बाला, सिसुवा, ताम्कु, मांतेवा याफु, हटियालगायत गाउँमा अल्लो पाइन्छ । यहाँ उत्पादन गरिएका अल्लोका सामग्री स्वदेशी बजारसँगै भारत, पाकिस्तान, कोरिया, बेलायत,अमेरिकालगायत देशमा समेत निर्यात हुने गरेको छ । संखुवासभामा वार्षिक तीन करोड रुपैयाँबराबरको अल्लोजन्य सामग्रीको कारोबार हुने गरेको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।