कालजयी गीत गाउँदै भजन शिरोमणिको बिदाइ

फाल्गुन १५, २०८० |कृपाल गौतम
कालजयी गीत गाउँदै भजन शिरोमणिको बिदाइ

काठमाडौं । कुनै कुराले मनमा यस्तो छाप छोडेर जान्छ, जुन जिन्दगीभर सायदै बिर्सन सकिन्छ । त्यस्तै हुन्छन् कोही व्यक्ति र रचना, चाहेर पनि बिर्सन नसकिने । त्यसै मध्येका एक हुन्– भजन शिरोमणि भक्तराज आचार्य । 

८२ वर्षको उमेरमा निधन भएका आचार्यको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो । पशुपतिमा भेला भएकाहरूले आचार्यका कालजयी गीत गाउँदै आचार्यको बिदाइ गरे । भक्तराज आचार्यले संसारबाट बिदा भए पनि उनको ओजिलो आवाज भरिएका गीत तथा रचना नेपाली संगीतप्रेमीका मनमा भने गुन्जिई नै रहनेछन् । 

भनिन्छ, जीवन दु:ख-सुखको संगालो हो । जीवनको उकाली ओराली गर्ने क्रममा भक्तराज आचार्यको गीत नसुन्ने सायदै नेपाली होलान् । उनको स्वरले मनमा दबेर बसेर भावलाई गीतमार्फत महसुस गराएर धेरैलाई नयाँ ऊर्जासहितको जीवन जिउन सिकाइरह्यो ।

भक्तराज आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, म कहीँ कतै हराए भनेलगायत झन्डै ४०० कालजयी गीत तथा भजनमा स्वर र संगीत दिए । तर २०४६ सालमा भएको दुर्घटनापछि भजन शिरोमणिको स्वर हरायो । त्यसपछि उनले कहिल्यै गाउन पाएनन् ।

एउटा गायकको स्वर खोसिँदा त्योभन्दा पीडादायी क्षण के नै हुन सक्छ र । तर पनि नेपाली सुगम संगीतमा उनले विशिष्ट स्थान ओगटिरहे । माया-प्रेम र देशभक्ति झल्काउने गीत र भजन उनी आफूले मात्र गाएनन्, अरूलाई पनि गाउन सिकाए । त्यही कारण पुरानो मात्र नभएर नयाँ पुस्ताले समेत उनका गीत उत्तिकै रुचाउँछन् ।  

उनै भजन शिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा सोमबार निधन भयो । तर उनको गीत म कहीँ कतै हराए भने म त तिमी भित्रै हुन्छु भनेजस्तै उनी सधैँ हामी भित्रै हुनेछन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।