मनमोहक राजकाँडा (फोटो फिचर)

पुस २, २०८० |मनोज पौडेल
मनमोहक राजकाँडा (फोटो फिचर)

सुर्खेत । निक्कै कठिन र जोखिम मोलेर पैदल हिँडदै गाउँ पुग्दा सबै थकित र निन्याउरो मान्छन् । न प्रशस्त घर छन् । न राम्रो बाटो । न प्रशस्त पानी । जम्मा तीन घरको गाउँ । तर संसाँझ पुग्नेले जुनेली रातमा टल्किरहेको हिमश्रृंखला देख्दा सबै दुःख पीडा भुल्छन् ।

प्राकृतिक र मनमोहक वैभव बोकेको गाउँ हो कर्णाली चिसापानीदेखि ४ घण्टा पैदल उकालो हिँडेर पुगिने सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. ३ राजकाँडा । राजकाँडामा रहेको रणबहादुर बुढाको चुरे होमस्टे नं. २ आसपासबाट लहरैदेखिने मनमोहक हिमश्रृंखलाले सबै आल्हादित बन्छन् ।

बिहानै सूर्योदयको किरणसँगै हिमाल खुल्दा सबै रोमाञ्चित बन्छन् । आँखा अघि हिमाल र नजिकै बादल र पहाडको लुकामारीको प्राकृतिक मनमोहकताको सुन्दरताले सबै लोभिन्छन् ।

उकालोमा हिँड्नुको दुःख, थोपा थोपा पानीका लागि तड्पिनुको पीडा र पहाडी भेगको चिसो सिरेटोले हानेको सबै दुःख बिर्साउने दृश्य थियो राजकाँडाको । भिरोलो गाउँ । अग्लाअग्ला पत्थर र चट्टानले गाउँको रौनकता थपेको थियो । भिरका गरामा पहेलपुर तोरी र हरियो गहुँको बाली लहलहाउँदै गरेको देख्दा अर्को मोहकता थपिएको छ । बालीनाली, रुखविरुवा र फलफूलका बोटविरुवा नजिकबाट देखिने सेताम्य हिमश्रृंखलाका लहरैले जो कोही पनि रमाउँथे ।

ती दृश्यको सुन्दरता शब्दमा जति बखान गरे पनि कमै हुन्छ । केही सुन्दरतालाई क्यामराको लेन्सले कैद पनि गर्न सकिन्छ । तर साच्चै प्राकृतिक छटाको मनोरम दृष्यसँग रमाउन भने राजकाँडा पुग्नै पर्छ । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।