आन्तरिक पर्यटकको गन्तव्य कुपिण्डे ताल संरक्षणमा ध्यान पुगेन

मंसिर २६, २०८० |सरिता चलाउने
आन्तरिक पर्यटकको गन्तव्य कुपिण्डे ताल संरक्षणमा ध्यान पुगेन

सल्यान । सरकारले एक सय पर्यटकीय गन्तव्यमा समेटेका स्थानमध्येको एक हो-सल्यानको कुपिण्डे ताल । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई उल्लेख्य मात्रामा तानिरहेको यो तालको संरक्षण र विकासका लागि भने तीनै तहका सरकारले कुनै काम गर्न सकेका छैनन् । संरक्षण नहुँदा ताल बर्सेनि पुरिँदै गएको छ भने फोहोर व्यवस्थापनमा ध्यान नदिँदा तालको सुन्दरतासमेत हराउँदै गएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ६८ किलोमिटर पूर्व र सल्यान सदरमुकाम खलंगाबाट २० किलोमिटर पश्चिममा छ कुपिण्डे दह । जिल्लाभित्रका मात्र नभई देशभरबाट धेरैजना कुपिण्डे दह हेर्न आउँछन् । सरकारले सन् २०२० मा घुम्नलायक नयाँ १ सय पर्यटकीय गन्तव्यहरूमा कुपिण्डे दहलाई पनि समेट्यो । तर दह क्षेत्रको विकासको योजना भने बनाउन सकेन । जसकारण बर्खामा खहरले ल्याउने गेग्रानले दह पुरिँदै गएको छ भने घुम्न आउनेहरुले फ्याक्ने फोहोरको व्यवस्थापनमा चुक्दा सुन्दरतासमेत खस्किँदै गएको दाङबाट आएका पर्यटक विष्णु योगीले बताए ।

हिउँद लागेसँगै कुपिन्डे दहमा पिकनिक मनाउन जानेहरुको भिड छ । तर पिकनिक खान आएकाले 'खसी, कुखुरा यही बध गर्ने, खाना यही पकाउने, खाने तर निस्किएको फोहोर जथाभावी फ्याकेँर हिँड्ने गर्नाले दह क्षेत्र दुर्गन्धित बन्न थालेको हो । व्यवस्थापनको लागि सरोकारवाला कसैले पनि ध्यान दिन सकेका छैनन् ।

नगरपालिकाले दह घुम्न आउने पर्यटक, डुंगा सयर र सवारीसाधन अलग-अलग शुल्क उठाउने गरेको छ । कुपिण्डे दहको क्षेत्राधिकार छुटयाउन नसक्दा पनि योजना बनाउन नसकेको स्वीकार गर्ने स्थानीय सरकार छिट्टै यसको निधो गरी दहको संरक्षण र विकामा योजनाबद्ध ढगंले काम गर्ने बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले दाबी गरे ।

अग्ला पहाडबीचमा रहेको यो दहले मौसमअनुसार वर्षमा तीनपटक रङ फेर्छ । दह वरिपरिको हरियाली, चराचुरुंगीको चिरबिरसँगै डुंगा सयर गर्नुको बेग्लै आनन्द छ । २३ दशमलव ५३ हेक्टरमा फैलिएको दहको लम्बाइ ८३४ मिटर र चौडाइ २५० मिटर छ । दह आसपास केही संरचाना बनेपनि प्रयोगविहीन छन् । भरपर्दो सडक तथा विद्युतसँगै अन्य आवश्यक पूर्वाधार विकास गर्नसके कुपिण्डे दह आकर्षक पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोक्छ । 


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।