ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक ब्याटिङमा लखनउमाथि हैदरावादको सानदार जित

वैशाख २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक ब्याटिङमा लखनउमाथि हैदरावादको सानदार जित

काठमाडौं । ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक इनिङको मद्दतमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सातौं जित दर्ता गरेको छ । आईपीएलको ५७ औं खेलमा हैदरावादले लखनउ सुपर जाइन्ट्सविरुद्ध १० विकेटको सानदार जित हात परेको हो । १ सय ६६ रनको लक्ष्य पछ्याएको हैदरावादले ९ दशमलव ४ ओभरमा बिना कुनै विकेटको क्षतिमा जित हासिल गर्‍यो ।

हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा लखनउले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनायो । कप्तान केएल राहुल २९ तथा क्रुणाल पाण्ड्या २४ रनमा आउट भए । आयुष बडोनीले सर्वाधिक ५५ रन बनाए भने निकोलस पूरन ४८ रनमा अविजित रहे । हैदरावादका भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्सले १ विकेट लिए ।

जवाफमा हैदरावादले ९ ओभर ४ ओभरमा विना विकेट गुमाएर १ सय ६७ रन बनायो । खेलको प्लेयर अफ द म्याच ट्राभिस हेड भए । उनले ३० बलमा ८ चौका र ८ छक्का प्रहार गरी ८९ रनको अविजित इनिङ खेले । अभिषेक शर्मा २८ बलमा ७५ रन जोडेर नटआउट रहे । यो सँगै आईपीएल इतिहासमै १ सय ५० भन्दा बढीको स्कोर सबैभन्दा छिटो चेस भयो । यस अघि डेक्कन चार्जर्सले २००८ मा मुम्बई इन्डियन्सविरुद्ध १२ ओभरमा १ सय ५५ रनको लक्ष्य पछ्याएको थियो । निकै खर्चिलो सावित भएका लखनउका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

यो जितसँगै हैदरावादले १२ खेलमा ७ जित सहित १४ अंक जोडेको छ । हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १२ खेलमा ६ खेल जितेको लखनउ छैटौं स्थानमा झरेको छ । आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु भिड्दैछन् । यो खेल हार्ने टोली अधिकारिक रुपमा आईपीएलको प्लेअफ रेसबाट बाहिरिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.