कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण जेठ ५ गते

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण जेठ ५ गते

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण आउँदो जेठ ५ गते हुने भएको छ ।

कान्तिपुर मिडिया ग्रुपको आयोजनामा हरेक वर्ष हुँदै आएको म्याराथन यस वर्ष जेठको पहिलो साताको शनिबार हुन लागेको हो ।

प्रतियोगिताका लागि कान्तिपुर मिडिया ग्रुपले ग्लोबल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ । कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ म्यानेजर सागर केसी र ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख दिलीप पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

एक दशकभन्दा लामो समय सम्ममा कान्तिपुर हाफ म्याराथन एउटा ब्रान्ड बनेको र हरेक धावकको रोजाइमा परेको केसीले बताउनु भयो । उहाँले कान्तिपुर हाफ म्याराथनमा सहभागी हुन कान्तिपुर कार्यलय थापाथली र ग्लोबल आईएमई बैंकको राजधानीको शाखा कार्यालयबाट दर्ता फारम भर्न सकिने जनाउनु भयो ।

दर्ता फारम आइतबारदेखि खुल्ने छ । कान्तिपुर म्याराथनको आधिकारिक वेवसाइटबाट पनि फारम भर्न सकिने छ ।

ग्लोबल आईएमई बैंकका मार्केटिङ प्रमुख दिलीप पोखरेलले विगतमा जस्तै यस वर्ष पनि कान्तिपुर हाफ म्याराथन बृहत् हुने अपेक्षा राख्नु भएको छ । प्रतियोगिताका रेस डाइरेक्टर एवं नेपाल एथ्लेटिक्स संघका सदस्य आरके विष्टले यो म्याराथनले छुट्टै पहिचान बनाएकाले यसमा सबै खेलाडीको चासो रहेको जनाउनु भयो ।

उहाँले एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा हुने रेसमा सबै विज्ञ प्राविधिक खटाइने बताउनु भयो । गत वर्ष हाफ म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईं विजेता बन्नु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement