खेलकुदमा २०८० : क्रिकेट विश्वकपदेखि विश्व कीर्तिमानसम्म

चैत्र २८, २०८० |खेल ब्युरो
खेलकुदमा २०८० : क्रिकेट विश्वकपदेखि विश्व कीर्तिमानसम्म

काठमाडौं । वर्ष २०८० सकिन दुई दिन बाँकी छ। यो वर्ष क्रिकेट, महिला फुटबल, पारा खेलकुद, कराँतेजस्ता खेलका लागि ऐतिहासिक रह्यो । विशेषगरी, नेपाल टी-ट्वेन्टी विश्वकपमा छनोट हुनु सम्पूर्ण खेलप्रेमीका लागि गर्वको विषय बन्यो । फुटबलका लागि भने यो वर्ष मिश्रति रह्यो ।

वर्ष २०८० लाई फर्केर हेर्दा नेपाली खेलकुदमा धेरै सम्झनलायक उपलब्धि भेटिनेछन्। नेपाली राष्ट्रिय क्रिकट टोली फेरि एक पटक टी-ट्वेन्टी विश्वकपमा छनोट भएको छ। वर्षौंको पर्खाइपछि नेपाली टिमले भारत र पाकिस्तानजस्ता देशसाग क्रिकेट खेल्ने अवसर यसै वर्ष पायो । एसियाली खेलकुदमा दीपेन्द्रसिंह ऐरीले कहिल्यै पनि नतोडिने विश्व कीर्तिमान बनाएका छन्।

वर्षभरि व्यस्त बनेको क्रिकेट टिमले घरेलु मैदानमा नै आधा दर्जनभन्दा धेरै प्रतियोगिता खेल्यो। महिला क्रिकेट टोलीले पनि यसै वर्ष एसिया कप खेल्ने अवसर प्राप्त गर्यो । विश्वकप छनोटसँगै, एसिया कप यात्रा, एसियाली खेलकुदमा विश्व कीर्तिमान, एरिका गुरुङले २५ वर्षपछि व्यक्तिगत प्रतिस्पर्धामा जितेको रजत पदक, पलेशा गोवर्द्धनको पाराओलम्पिक छनोट तथा सन्तोषी श्रेष्ठको लगातार सफलताका लागि यो वर्ष सम्झिइने छ। 

एसियाली खेलकुदमा नेपाल २९ खेलमा सहभागी भएको थियो । धेरै खेलले निराश बनाइरहँदा १९ वर्षकी एरिका गुरुङले रजत पदक जितिन्। उनले विश्व कराँते च्याम्पियनसिप र युएस ओपनमा पनि स्वर्ण जितिन्। व्यवस्थित खेल मैदानसमेत नभएको महिला कबड्डीले कास्य पदक दिलाउँदा नेपाली खेलकुद व्यवस्थापकलाई झस्काएको थियो। सेन्ट्रल एसियनमा लगातार दुई पटक च्याम्पियन भएको भलिबल टिमले यसै वर्ष एसियाली खेलकुदमा डेब्यू गर्‍यो ।

फुटबलका लागि भने यो वर्ष मिश्रति रह्यो । खेलाडी पलायनका कारण नेपाली पुरुष फुटबल टिम निर्माणमै असर परिरहादा महिला टिमले भने उल्लेख्य उपलब्धि हासिल गर्‍यो । महिला फुटबलले एसियाली खेलकुदमा डेब्यु गर्यो। नेपालका ६ खेलाडीले भारतको महिला आई लिग खेलिरहेका छन्। वाफ महिला च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बन्नु ठूलै उपलब्धि हुन्। सावित्रा भण्डारी युरोपेली क्लब अन अभान्ट ग्यांगम्पमा अनुबन्ध भएसँगै नेपाली खेलाडी पनि युरोपमा खेल्न सक्छन् भन्ने प्रमाणित भयो।

वर्षको अन्त्यमा पलेशा गोवर्द्धनले पाराओलम्पिकमा छनोट भएर समस्त खेलप्रेमीलाई खुसी दिइन् । समग्रमा यसरी विश्व खेलकुदको महाकुम्भमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनिन्। सबैभन्दा उपलब्धिको कुरा त यही वर्ष खेलकुदमा 'झोले संघ' भनेर चिनिएका एक सयभन्दा धेरै खेल संघ संस्थालाई राष्ट्रिय खेलकुद परिषद्-राखेपले खारेज गरेको छ। अघिल्लो वर्ष एक सय ८० भन्दा धेरै खेल संघ अर्ब ६२ वटा भएका छन्। तर युवा तथा खेलकुद मन्त्रालयले यो वर्ष कुनै उल्लेखनीय कार्य गर्न सकेन । वर्षको अन्तिममा नियुक्त भएका मन्त्री विराजभक्त श्रेष्ठले काम गर्ने आशा जगाएका छन्। तर, नेपालको संसदमा यो वर्ष पनि खेलकुद विषय महत्वका साथ बहसमा आउन नसक्नु दुःखपूर्ण हो ।