काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मान (पिएसजी) लाई १-० तथा समग्रमा २-० ले हराउँदै डर्टमन्ड फाइनलमा प्रवेश गरेको हो । डर्टमन्डले पहिलो लेगमा पनि १-० गोल अन्तरकै जित हासिल गरेको थियो ।
डर्टमन्डलाई ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा स्थान दिलाउन दोस्रो लेगमा म्याट्स हुमेल्सले निर्णायक गोल गरे । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीले भने गोल गर्न सकेन ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औं मिनेटमा जुलियन ब्रान्ड्टको कर्नर किकमा हुमेल्सले हेडर मार्फत गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । यससँगै पहिलो लेगमा निकलास फुलक्रुगलको गोल मार्फत अग्रता बनाएको डर्टमन्डले समग्रमा २-० को नजितासहित फाइनलमा स्थान सुरक्षित गर्यो ।
पछिल्लो पटक २०१३ मा फाइनलसम्म पुगे पनि डर्टमन्ड बायर्न म्युनिखसँग पराजित भएको थियो । डर्टमन्डले एक मात्र च्याम्पियन्स लिग उपाधि १९९७ मा युभेन्टसलाई पराजित गर्दै जितेको थियो ।
डर्टमन्डले अब उपाधिका लागि रियाल मड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलको दोस्रो लेग आज राति हुँदैछ ।