नेपाली म्याराथनका पर्याय : गोपीचन्द्र

नेपाली धावक गोपीचन्द्रलाई लन्डन म्याराथनमा सहभागी हुने मौका
चैत्र २७, २०८० |प्रदीप लेखी
नेपाली म्याराथनका पर्याय : गोपीचन्द्र

काठमाडौं । म्याराथन, सुन्दा जति सरल लाग्छ, दौडन उति नै कठिन छ । ४२ किलोमिटरको दूरी, खुला सडक अनि नियममा बाँधिएर जो कोही म्याराथन दौडन सक्दैन । तर गोपीचन्द्र पार्की नेपाली म्याराथनका यस्ता धावक हुन्- जसले अहिलेसम्म चारवटा म्याराथनमा स्वर्ण हात पारिसकेका छन् ।

केही महिनाअघि नेपालगन्ज म्याराथनमा स्वर्ण जितेर उनले संसारकै प्रतिष्ठित लन्डन म्याराथनमा सहभागी हुने मौका पाएका छन्, जुन हरेक धावकको सपना हुन्छ । यो अवसरलाई सफलतामा परिणत गर्न उनी कडा मिहिनेत गरिरहेका छन् ।

कैलालीको धनगढीमा जन्मिएका गोपीचन्द्र पार्कीले पाँच सय मिटरदेखि नै दौड सुरु गरेका थिए । त्यसपछि ८ सय, १५ सय गर्दै म्याराथन दौडन थाले । २०६७ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले पहिलोपटक २०७२ को आर्मी म्याराथन जितेर म्याराथन स्वर्णयात्रा सुरु गरे ।

२०७७ को नेपालगन्ज, २०७८ को काठमाडौं तथा गत मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथनको स्वर्ण पनि आफ्नै नाममा पारे । यसबाहेक गोपीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधि हात पारेका छन् । तर नेपालगन्ज म्याराथनले उनलाई लन्डन म्याराथनमा सहभागिताको मौका जुराइदियो ।

पछिल्लो समय नेपालगन्ज म्याराथनले छुट्टै पहिचान बनाएको छ । नेपालको म्याराथनमध्येकै सबैभन्दा राम्रो रुट यही छ भने इलेक्ट्रोनिक टाइमिङको सुरुवात पनि यहीँबाट भएको संयोजक टीएस ठकुरी बताउँछन् । उनका अनुसार खेलाडीलाई अन्तर्राष्ट्रिय म्याचएक्सपोजर दिने उद्देश्यअनुरुप खेलाडीलाई लन्डन म्याराथनमा सहभागी गराउन लागिएको हो ।

लन्डन म्याराथनको तयारीमा जुटेका गोपी अहिले दैनिक सात घण्टासम्म प्रशिक्षण गरिरहेका छन् । लन्डन र नेपालको हावापानी यतिबेला लगभगउस्तै भएकाले यो म्याराथनमा दौड्न सजिलै हुने एथलेटिक्स प्रशिक्षक सन्तोष श्रेष्ठको विश्वास छ ।

लन्डन म्याराथनमा दुई घण्टा आठ मिनेटभित्र दौड पूरा गर्नेले सिधै पेरिस ओलम्पिकमा मौका पाउनेछन् । तर नेपाली खेलाडीका हकमा यो निकै गाह्रो छ । त्यसैले आफ्नो स्तरमा सुधार गर्दै वाइल्ड कार्डबाट ओलम्पिकमा सहभागिताको मौका पाए फलदायी हुने विश्वास गोपीको छ ।

राष्ट्रिय स्तरको म्याराथनमा थुप्रै खेलाडी सहभागी हुन्छन् र उपाधि पनि जित्छन् । तर अन्तर्राष्ट्रिय ख्याति कमाएका बर्लिन, न्युयोर्क, लन्डनलगायत प्रतिष्ठित म्याराथनमा भाग लिन विरलैले अवसर पाउँछन् । त्यसैले गोपीबाट सुरुवात भएको यस्तो सहभागिताले केही हदसम्म नेपाली म्याराथन खेलाडीको मनोबल उच्च बनाउला कि ?


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।