रामपुर नगरपालिकालाई अध्यक्ष कप भलिबलको उपाधि

चैत्र ८, २०८० |माधव अर्याल
रामपुर नगरपालिकालाई अध्यक्ष कप भलिबलको उपाधि
पाल्पाको रैनादेवी छहरामा आयोजित अध्यक्ष कप भलिबल प्रतियोगिताको फाइनलमा विजेतलाई ट्रफी तथा पुरस्कार प्रदान गरिँदै । तस्बिर : माधव अर्याल/कान्तिपुर टेलिभिजन

पाल्पा । पाल्पाका १० वटै स्थानीय तह सहभागी भएको अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ ।

रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा रम्भा गाउँपालिकालाई ३-२ सेटले पछि पार्दै रामपुर नगरपालिकाले उपाधि जितेको हो । उसले २५-२१, २९-२७ र १५-१२ को सेटले पछि पारेको हो । रम्भाले २५-१७ र २५-१५ को सेट जितेको छ ।

पहिलो भएसँगै रामपुर नगरपालिकाले ७५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने रम्भा गाउँपालिकाले ४५ हजार नगदसहित सिल्ड, ट्रफी र प्रमाणपत्र पाएको छ । तेस्रोका लागि भएको खेलमा पूर्वखोलाले रैनादेवी छहरा गाउँपालिकालाई ३-१ सेटले जितेको छ । २५-१४, २५-१६ र २५-२१ को सेटले पछि पार्दै पूर्वखोला तेस्रो भएको हो ।

रैनादेवीले २५-१७ को सान्तवना सेट जितेको छ । तेस्रो हुनेले ३० हजार र सान्तवना भएको रैनादेवी छहराले १५ हजार नगदसहित नगद, ट्रफी र प्रमाणपत्र पाएको रैनादेवी छहरा युवा तथा खेलकुद समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।

प्रतियोगितामा खेल अवधिभर उत्कृष्ट स्पाइकर रम्भाका यम आले, उत्कृष्ट सेटर रामपुरका अमृत गाहा, उत्कृष्ट डिफेन्डर रम्भाका तुलसा बाकाबल, उत्कृष्ट ब्लकर रामपुरका दीपेन्द्र आले, उत्कृष्ट खेलाडी रामपुरका सन्दीप थापा भए भने उत्कृष्ट कोच रम्भाका चिरन फाल भएको रैनादेवी छहरा खेलकुद विकास समितिका सदस्य सचिव जीवन रानाले जानकारी दिए ।

विजयी तथा उपविजयी खेलाडीलाई लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सेना, प्रवक्ता देवेन्द्र पुनलगायतले नगद, प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरे ।

लुम्बिनी प्रदेशसभाका सभामुख घर्ती मगरले युवालाई अनुशासित बनाउन खेलकुदको माध्यमबाट सहयोग पुग्ने बताए । उनले प्रदेश सरकार, स्थानीय सरकारले खेलकुदमा लगानी बढाएर युवालाई यही केही गर्ने वातावरण तयार गर्न आग्रह गरे ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।