विश्वकप क्रिकेट खेलेका खेलाडीको १० वर्षपछि यस्तो छ अनुभव

चैत्र ३, २०८० |सविना कार्की
विश्वकप क्रिकेट खेलेका खेलाडीको १० वर्षपछि यस्तो छ अनुभव

काठमाडौं । त्यो यस्तो एउटा साँझ थियो जसको सबैले प्रतिक्षा गरिरहेका थिए । नेपाली खेलप्रेमीको सपना पूरा भएको त्यो साँझ । के भएको थियो त्यो दिन ? आउनुस्, म तपाईंलाई १० वर्षअघिको त्यो साँझको प्ल्यास ब्याकमा लैजान्छु । 

सन् २०१४, मार्च १६ ।

बंगलादेशको चिट्गोंङगको जाहुर अहमद चौधरी स्टेडियम । टी ट्वेन्टी विश्वकपमा नेपालको डेब्यू खेल । प्रतिस्पर्धी थियो हङकङ । नेपालको राष्ट्रिय गान बज्दा को नेपालीको आँखा रसाएन होला र ? त्यो पल सम्झँदा मेरो आङ अहिले पनि सिरिङ्ग हुन्छ । नेपालले विश्वकप खेल्ने सपना वास्तविकतामा परिणत भएको दिन थियो । अन्य देशले विश्वकप खेलेको हर्दै आएका नेपाली समर्थक टेलिभिजन सेट अगाडी, चोक, रेस्टुरेन्टमा जम्मा भएर पहिलोपटक आफ्ना खेलाडीलाई विश्वकपमा हेरिरहेका थिए । त्यो क्षणको बयान शब्दमा बर्णन गर्न गाहे छ, मात्र महसुसस गर्न सकिन्छ ।

तपाइको अनुभव कस्तो रह्यो ? तपाईं कहाँ हुनुहुन्थ्यो ? कसरी हेर्दै हुनुहुन्थ्यो त्यो खेल ? कमेन्टमा लेख्नु होला है... म एकैछिन पर्खन्छु ।

लेख्नुभयो ? ओके ।

नेपालले टि ट्वान्टी विश्वकपमा डेब्यु गरेको दश वर्ष पुरा भएको छ । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको १८ वर्षपछि नेपालले विश्वकप खेलेको दिन थियो त्यो ।

अझ खुसीको कुरा के भयो भने नेपालले त्यो पहिलो खेलमै हङकङलाई ८० रन हरायो । आफ्नो डेब्यु खेललाई नेपाली खेलाडीले विशेष बनाए । पहिले ब्याटिङ गरेको नेपालका ओपनर थिए सागर पुन र सुबास खकुरेल । सागरले १३ र सुबासले २२ रन बनाएर आउट भए । त्यसपछि आएका ज्ञानेन्द्र मल्लले ४८ र कप्तान पारस खड्काले ४१ रन बनाए । शरद भषावकरले १४ रन थपे । नेपालले ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

हङकङ १७ ओभरमा ६९ रनमा अल आउट भयो । शक्ति गौचन र बसन्त रेग्मीले तीन तीन तथा सोमपाल कामीले दुई, पारस र जितेन्द्र मुखियाले एक एक विकेट लिए । पारसले हङकङका ओपनर इरफान अहमदलाइ ओभरको पहिलो बलमा नै आउट गरेका थिए ।

श्रीलङकन मुलका क्यानेडियन प्रशिक्षक पुबुदु दशानायकेको आगमनसंगै नेपालले विश्वकपको सपना देख्न सुरु गरेको थियो । नेपाली क्रिकेट त्यो स्थितीमा थियो, जुन बेला विश्वकप खेल्ने सपना देख्नु नै पनि निकै ठूलो कुरा थियो । अर्थात नेपालले विश्वकप खेल्छ भन्दा पनि कसैलाई विश्वास नै लाग्दैन थियो । क्रिकेटको क्रेज पनि आजको जस्तो थिएन । स्रोत साधन सिमित थियो, एक्सपोजर पनि निकै कम थियो । त्यसका बाबजुद पनि नेपाल विश्वकपमा छनोट भएको थियो ।

दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ८ विकेटको हार बेहोर्यो । पहिले ब्याटिङ गरेको नेपालले पारसको ४१ र शरदको ४० रनको सहयोगमा पाँच विकेट गुमाएर १ सय २६ रन जोड्यो । बंगलादेशले २७ बल बाँकी रहँदा दुइ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । समुहको अन्तिम खेलमा भने अफगानिस्तन माथि ९ रनको रोमान्चक जीत हात पार्यो । नेपालले ५ विकेटको क्षतीमा १ सय ४१ रनको योगफल बनाएको थियो । जसमा सुबास खकुरेलले ५६ रनको इनिङस खेले । सुबास टि-ट्वेन्टी विश्वकपमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बने ।

अफगानिस्तानले ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । शीर्ष चार ब्याटरले दोहोरो रन बनाउन सकेनन् । जितेन्द्र मुखियाले तीन, सोमपाल र शक्तिले दुइ दुइ तथा बसन्त रेग्मीले एक विकेट लिएपछि जीत सम्भव भएको थियो । यो जीत नेपालका लागि विशेष थियो । अफगानिस्तानलाइ पराजित गरेपछि नेपालका विभिन्न शरहमा खुशीयाली मनाउदै मध्य रातसम्म समर्थकले र्याली निकालेका थिए ।

पहिलो चरणको समुह ए मा रहेको नेपाल तीन खेलमा चार अंक जोड्दै दोस्रो स्थानमा रह्यो । नेट रन रेटमा बंगलादेशसँग पछि पर्दै नेपाल दोस्रो चरण पुग्न सकेन । तर, त्यो विश्वकप नेपाली क्रिकेटका लागि टर्निङ पोइन्ट बन्यो । क्रिकेटप्रति सरकार र आम मानिसको चासो बढ्न सुरु भयो । यहि विश्वकप हेरेर धेरै युवा खेलाडीले क्रिकेट खेल्न सुरु गरे । नेपाली राष्ट्रिय क्रिकेट टिमका आजका मुख्य खेलाडी रोहित पौडेल, कुशल भुर्तेल लगायतले त्यतिबेला टेलिभिजनमै हेरेका थिए त्यो खेल ।

त्यसरी विश्वकपमा डेब्यू गरेको नेपाललाई दोस्रोपटक विश्वकपमा छनौट हुन भने दश वर्ष लाग्यो ।

यो १० वर्षमा नेपाली क्रिकेटमा धेरै उतारचढाव आए । नेपाल क्रिकेट संघ क्यान आइसीसीको निलम्बनमा पर्यो, नेपाल ओडिआइ राष्ट्र बन्दा दिपेन्द्र सिंह ऐरी, करण केसी रोहित, कुशल, आरिफ, आसिफ लगायतका युवा खेलाडीको उदय भयो । घरेलु संरचना कमजोर हुँदा केही क्षमतावान खेलाडी पलायन पनि भए । सबै ठिकठाक भएको भए नेपालले सायद दश वर्ष विश्वकपका लागि कुर्नु पर्ने थिएन । तर ढिलै सही नेपाली क्रिकेट अहिले लयमा देखिन्छ । यहि वर्षको जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपालले रोहितको कप्तानीमा सहभागिता जनाउनेछ । घरेलु मैदानमा भएको एसिया छनोटमा युएइलाई हराएर मोन्टी देसाइको प्रशिक्षणमा नेपाल दश वर्षपछि विश्वकपमा फर्किएको हो । जसमा सोमपाल अहिले पनि टोलीका मुख्य सदस्यका रुपमा छन् ।

डेब्यु विश्वकपमा नेपालको कप्तानी गरेका पारस अहिले क्यानका सचिव छन् । ज्ञानेन्द्र नेपाल ए टिमको मुख्य प्रशिक्षक बन्दा शक्ति युवा खेलाडी उत्पादनमा व्यस्त छन् । विनोद भन्डारी ए टिमको कप्तानको भुमिकामा छन् । बसन्त रेग्मी, सागर, सुबास, अमृत भट्टराई, राहुल बिक, पृथु बाँस्कोटा विदेशमा छन् । नरेश बुढाएर क्यानडाको क्रिकेट सिस्टम भित्र छन् । क्यानडाको प्रशिक्षक अहिले पुवुदु हुन् । जितेन्द्र, प्रदिप ऐरी, अभिनाष कर्ण घरेलु क्रिकेट खेलिरहेका छन् । शरद कमेन्टेटर र विश्लेषकको रुपमा आफुलाई प्रस्तुत गरिरहेका छन् ।

अविश्वसनिय लाग्ने सपनालाई पुरा गर्न महत्वपुर्ण योगदान गरेका ती सवै खेलाडीलाई धन्यवाद । आशा छ, अब भने हामीले विश्वकपका लागि लामो प्रतिक्षा गर्नु पर्ने छैन् । नेपालले टि ट्वान्टी विश्वकपको हरेक संस्कण खेल्नेछ । एसोसिएट राष्ट्रमा नम्बर एक बन्नेछ, महिला, पुरुष दुवैको घरेलु संरचना बलियो हुनेछ । नेपालले छिट्टै ओडिआई विश्वकप र टेस्ट पनि खेल्नेछ । 


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।