दशरथ रंगशाला जहाँ खेलकुदबाहेक सबै हुन्छ...

चैत्र १, २०८० |प्रदीप लेखी
दशरथ रंगशाला जहाँ खेलकुदबाहेक सबै हुन्छ...

काठमाडौं । विश्वकप छनोटअन्तर्गत चैत ८ गते नेपालले घरेलु मैदानमै बहराइनविरुद्ध खेल्ने तालिका थियो । तर दशरथ रंगशालाको खराब अवस्थाका कारण यो खेल नेपालमै नहुने भयो ।

घरेलु मैदानमा खेल्न नपाएपछि नेपाली टोली मलेसिया हुँदै बहराइनका लागि प्रस्थान गरिसकेको छ । मैदानकै कारण विश्वकप छनोटजस्तो महत्त्वपूर्ण खेल आफ्नै मैदानमा खेल्न नपाउनुले खेलाडीलाई मात्र नभएर समर्थकलाईसमेत पीडा दिन्छ । तर त्यही दशरथ रंगशालामा अनेकौं कार्यक्रम हुँदा मैदानको स्तर थप जीर्ण बनेको छ ।

काठमाडौंको दशरथ रंगशालामा बिहीबार बौद्धिक व्यक्तिहरुको जमघट भयो । अवसर थियो- अन्तर्राष्ट्रिय मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ दशरथ रंगशालामै मिर्गौला दिवस मनाइयो । मिर्गौला प्रत्यारोपणसँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरुले दशरथ रंगशालामा प्रदर्शनी खेलसहित विविध कार्यक्रम गरे । रंगशालाको रनिङ ट्रयाकमा भने खेलाडीहरु अभ्यास गरिरहेका थिए । मिर्गौला दिवसको कार्यक्रम पनि आयोजना भइरहेको थियो ।

कार्यक्रम भइरहँदा मैदानको खराब अवस्थाका कारण दशरथ रंगशालामा विश्वकप छनोटअन्तर्गत बहराइनसँग नेपालले आफ्नो घरेलु मैदानमा खेल्नुपर्ने खेल गुमाएको कसैले मतलब नै गरेनन् । उनीहरुले जानी-नजानी मैदानको दुबोमा भने क्षति पुर्‍याइरहेका थिए । तर संरक्षण गर्दै चाँडै अन्तर्राष्ट्रिय खेल आयोजना गर्न योग्य बनाउनुपर्नेमा कसैको ध्यान गएन ।

अर्कोतर्फ फुटबल खेलाडी घरेलु मैदान खेल्नै नमिल्ने भएपछि विपक्षीको मैदानमा खेल्न बाध्य छन् । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशालामा मिर्गौला दिवस मनाइएकामा कुनै आपत्ति छैन । तर हरेक औपचारिक-अनौपचारिक कार्यक्रम रंगशालामै हुने तर खेलाडीले अन्तर्राष्ट्रिय खेलचाहिँ घरेलु रंगशालामा खेल्न नपाउने । योभन्दा लाजमर्दो अरु हुनै सक्दैन ।

रंगशाला हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वामित्वमा छ भने एन्फाले यसमा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्दै आएको छ । एन्फा आफ्नै राजनीतिक दाउपेचमा मग्न छ । उसलाई फुटबल, मैदान र खेलाडीको कुनै मतलब नै छैन । राखेपले पनि दशरथ रंगशालालाई अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्न योग्य बनाउन लागेको देखिँदैन ।

किनकि राखेपकै अनुमतिमा यो रंगशालामा नियमित जस्तो कन्सर्ट र कार्यक्रम हुन्छन् । तर, अन्तर्राष्ट्रिय फुटबलका लागि मैदान अयोग्य ठहरिन्छ । राखेप र एन्फालाई प्रश्न छ- तिमीहरुले वस्तु र स्थानको अधिकतम् प्रयोगको सिद्धान्त अवलम्बन गरेर रंगशालामा अन्य कार्यक्रम पनि आयोजनाको अनुमति दिएका हौ भने खोइ त संरक्षणको नीति ? के रंगशाला कार्यक्रम आयोजनास्थलमै परिणत हुन लागेको हो ?


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।