पहाड छिचोलेर काठमाडौं आएका भरतसिंह महताको संघर्ष यात्रा...

फाल्गुन २७, २०८० |प्रदीप लेखी
पहाड छिचोलेर काठमाडौं आएका भरतसिंह महताको संघर्ष यात्रा...

काठमाडौं । तपाईं-हामी अक्सर आफ्नो जीवनसँग गुनासो गर्छौं, हामीलाई लाग्छ- मलाईजस्तो समस्या अरु कसैलाई छैन । साना-साना दु:खमा पनि आत्तिन्छौं । हरेस खान्छौं । तर के सिटामोल किन्नकै लागि एक दिन हिँड्नुपर्ने ठाउँदेखि ओलम्पिक छनोटसम्मको यात्रा तय गर्न सहज छ ? राज्यले समेत बेवास्ता गरेको लिपुलेक नजिकैको दार्चुलाका भरतसिंह महताको यात्रा कहाँ सजिलो थियो र ? बाधा अवरोधका ठूला-ठूला पहाड छिचोल्दै काठमाडौं आएका भरतले पेरिस पारा ओलम्पिक छनोटमा नेपालको प्रतिनधित्व गर्दै छन् ।

लिपुलेकको बासिन्दाभन्दा कहिलेकाहीँ लाग्छ उनीहरुको राष्ट्रियतामै प्रश्न छ । किनकि नेपालको चुच्चे नक्सामा समेटिएको तर भारतीय कब्जामा रहेको लिपुलेक क्षेत्र अहिले पनि औपचारिक रुपमा नेपालको होइन । यही लिपुलेकसँगै जोडिएको अपी-हिमाल गाउँपालिका ६ को रिगुर धङकङका बासिन्दा हुन भरतसिंह महता । उनी राष्ट्रिय खेलकुद परिषद्‌बाट नेपालको प्रतिनिधित्व गर्दै पारा ओलम्पिक एसियाली छनोट खेल्ने टोलीमा परेका छन् ।

लिपुलेक छेउमा जन्मिएका भरतको विकट गाउँदेखि ओलम्पिक छनोटसम्मको यात्रा उनी आफैंले भोगेका हुन् । तर उनलाई नै विश्वास छैन उनी यहाँसम्म आइपुगेकामा । उनले सामना गरेका दु:खको कुनै हिसाब छैन ।

उनको गाउँलाई सडकले छोएकै छैन । हात-हातमा मोबाइल हुने यो जमानामा उनको गाउँमा टेलिफोन पुगेको एक वर्ष मात्र भयो । उनको जन्मस्थानबाट सिटामोल किन्न पनि एक दिन हिँड्नुपर्छ ।

पारा खेलकुदबारे उनले गाउँकै एकजना दाइबाट थाहा पाएका हुन् । उनी यसबारे बुझ्न २०७२ सालमा काठमाडौं आए । त्यतिबेला उनले हृविल चेयर क्रिकेटका बारेमा मात्र थाहा पाए । तर उनको दुवै खुट्टा सग्लो भएकाले उनी गाउँ फर्किए । गाउँ पुगेपछि उनले युट्युबमा पारा खेलकुदबारे बुझ्दै जाँदा पारा तेक्वान्दोबारे थाहा पाए । पछि पुन: काठमाडौं आए । यसरी नौ महिनाअघि पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामासँग भेट भएपछि बल्ल सुरु भएको हो भरतको पारा यात्रा ।

भरतको दैनिकी भने तेक्वान्दो प्रशिक्षण हलबाट होइन गाईगोठबाट सुरु भएको हो । उनले काठमाडौंको कीर्तिपुरमा तीन रोपनी जमिन भाडामा लिएर गाईपालन गरेका छन् । सुरुमा सातवटा गाईबाट सुरु गरे पनि लम्पी स्किन रोगका कारण दुईवटा मरे । चार महिनाअघि एउटा गाई चोरी भयो । अहिले पाँचवटा गाई पालेर बिहान-बेलुका दूध बेच्दै उनको गुजारा चलिरहेको छ । परिवारमा आमा, श्रीमती, दुई बच्चा र तीन दिदी-बहिनी छन् ।

ठूलो परिवार त्यसमा पनि विकट क्षेत्रले गर्दा उनले १० कक्षासम्म मात्र पढ्न सके । आमालाई एउटा हात नभएको छोराले कसरी गरिखाला भन्ने असाध्यै चिन्ता थियो ।

भरतले, पलेशा गोवधर्न र अमिर ब्लोनसँगै चीनमा मार्च १५ देखि १७ सम्म हुने एसियाली छनोटमा सहभागिता जनाउँदै छन् । पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेका भरतले ४४ र ५८ केजी तौलमा प्रतिस्पर्धा गर्नेछन् । लिपुलेक छेउको दुर्गमा गाउँदेखि पारा ओलम्पिकसम्मको भरतको यात्राले सुखद् परिणाम ल्याओस् ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।